Odapalika - The Fourth Estate - चौथो अंग
महावै गाउँपालिकाका एकल पुरुषले पनि पाउन थाले भत्ता 

काठमाडौँ । कालीकोटको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो ।

चालु आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले जानकारी दिए ।

उनका अनुसार चालु आवको गाउँसभाबाट एकल पुरुषलाई भत्ता दिने निर्णय गरेर साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता दिइसकिएको छ ।

मापदण्ड भित्रका एकल पुरुष काम गर्न शारीरिक रुपमा कमजोर हुँदै जाने उमेर समूहका भएकाले उनीहरुको सहाराका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । 

६० वर्ष उमेर पुगेपछि नागरिकले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था भएपनि त्यसभन्दा कम उमेरका एकल पुरुषलाई भत्ता दिन थालेको उनको भनाइ छ । 

गाउँपालिकाले ४९ वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, ४९ वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ५९ वर्ष सम्मका पुरुषलाई मासिक भत्ता दिने गाउँपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update