Odapalika - The Fourth Estate - चौथो अंग
प्लास्टिकजन्य मालाको प्रतिबन्ध लगाएको शिवराज नगरपालिकाकाे आह्वान–स्थानीय फूल प्रयोग गर्नू

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकाले प्लास्टिकजन्य माला र आयातित वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउँदै स्थानीय फूल प्रयोग गर्न आग्रह गरेको छ । 

तिहारमा प्लास्टिकजन्य मालाको प्रयोग तथा किनबेचमा रोक लगाएको नगरपालिकाले स्थानीय फूलमालाको प्रयोगमा जोड दिएको हो

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा भनिएको छ, ‘प्लास्टिकजन्य फूलमालाको प्रयोगले वातावरण प्रदूषणका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने र यहाँका स्थानीय कृषकद्वारा उत्पादित फूलले बजार नपाउने भएकाले प्लास्टिकजन्य मालाको बिक्री–वितरणमा रोक लगाइएको छ।’

स्थानीय फूलमालाको प्रयोगसम्बन्धी नगरपालिकाले जारी गरेको सूचना 

प्रस्तुत विषयमा प्लाष्टिकजन्य फूल तथा मालाले वातावरणीय प्रदुषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने स्थानीय कृषकबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने जस्ता समस्याहरु देखिने भएकोले प्लाष्टिकजन्य फूलमाला, खाँदा र अन्य सामाग्रीको प्रयोग नगरी स्थानीय रूपमा उत्पादित प्राकृतिक फूलहरू विशेष गरी सयपत्री, गोदावरी र मखमलीको प्रयोग गर्नु गराउनु हुन अनुरोध छ ।

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टीकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण र भण्डारण गर्न पूर्ण रुपमा रोक लगाईएको व्यहोराको मिति २०७९ श्रावण १२ को नेपाल राजपत्रमा प्रकाशित सूचना समेत सबै अवगत नै छ ।

वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्लाष्टीकजन्य फूलमालाको उत्पादन विक्रि वितरण, ओसापसार र उपभोग गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सवैमा जानकारी गराईन्छ । बजार अनुगमनका क्रममा त्यस्ता प्लाष्टिकजन्य सामाग्रीहरु विक्रि वितरण भएको पाइएमा उक्त सामान जफत गरी प्रचलित कानून बमोजिम जरिवाना हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।

वातावरणमैत्री र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न समेत टेवा पुग्ने भएकाले प्राकृतिक रुपमा उत्पादन भएको पुष्पगुच्छा फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्नु गराउनुहुन सबै व्यापारी, व्यवसायी, उपभोक्ता, सरकारी, निजी, गैर सरकारी कार्यालयहरु र आम नगरवासीमा हार्दिक अनुरोध गर्दछौ ।

notice-1-1729235243.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update