Odapalika - The Fourth Estate - चौथो अंग
भाेलिदेखि ६ हजार ७४३ वडामा माओवादी केन्द्रको विशेष अभियान

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले शनिवारबाट देशभरका स्थानीय तहमा जनतासँग विशेष अभियान सुरु गर्दै छ । 

कार्यक्रमको शनिवार भर्चुअलमार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन हुने माओवादीले जनाएको छ । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी ७५३ पालिकाका सबै वडामा एकसाथ उद्घाटन गर्ने जानकारी दिए ।

अभियानको उद्घाटन प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने छन् । बिहान सबै वडामा संचालन हुने कार्यक्रम एकसाथ उद्घाटन गरेपछि अध्यक्ष प्रचण्डले चन्द्रगिरि नगरपालिका वढा नम्बर २ को घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने छन् । 

माओवादीले जितेको यो वडामा प्रचण्ड आफैँ उपस्थित भएर स्थानीय जनतासँग साक्षात्कार गर्ने माओवादी केन्द्रका प्रवक्ता सापकोटाले जानकारी दिए । 

माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ को  ३ महिने सुरु गर्न लागेको हो । यो अभियानको उद्घाटनमा जुममार्फत सवै स्थानीय तहका पार्टी कमिटीका नेताहरु जोडिने माओवादीको भनाइ छ । 

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ । पार्टी अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कामय तथा सेवा प्रवाहमा जनअपेक्षाअनुसार काम गर्दै आएको पार्टीले जनाएको छ । सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको सो पार्टीको दाबी छ ।

अभियानका लागि पार्टी केन्द्रीय सदस्य, आयोग सदस्य, सल्लाहकार सदस्यको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारी सम्मिलित पालिकास्तरको टोली निर्माण गरिएको छ । अभियान टोलीले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम सञ्चालन गर्नेछ ।

अभियान तीन चरणमा सञ्चालन हुने बताइएको छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिनेछ ।

माओवादीले अभियान सञ्चालनका लागि सबै पदाधिकारीको कार्यविभाजन गरी प्रदेश संयोजक तोकेको छ । कोशीमा चक्रपाणि खनाल, मधेशमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव, सुदूरपश्चिममा डिलाराम आचार्य, सम्पर्क समन्वयमा गिरिराजमणि पोखरेल, उपत्यका विशेषमा वर्षमान पुन र प्रवास प्रदेशमा राम कार्कीलाई संयोजक तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update