Odapalika - The Fourth Estate - चौथो अंग
दुर्गम नारच्याङमा प्रसूति गृह, घरमा सुत्केरी हुनेको संख्या शून्य 

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसूतिगृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्वास्थ्यचौकीमा प्रसूतिगृहको सेवा विस्तार गरेको हो । 

अन्नपूर्ण –४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले नयाँ भवन निर्माण र आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरेर मापदण्डअनुसारको प्रसूतिगृह स्थापना गरेको जानकारी दिए ।

निलगिरिखोला जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमको बजेटबाट निर्माण भएको भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री खरिद गरेर प्रसूतिगृह स्थापना गरेको उनको भनाइ छ । 

नारच्याङका गर्भवती यसअघि प्रसूति सेवाका लागि भुरुङ्ग तातोपानी स्वास्थ्यचौकी, बेनी अस्पताल र पोखराका अस्पतालमा जाने गरेका थिए । प्रसूतिगृह स्थापनाका लागि गाउँपालिकाले नारच्याङमा तालिमप्राप्त स्वास्थ्यकर्मी खटाउनुका साथै पछिल्लो कार्यपालिका बैठकले सूचीकृत गरेको थियो । 

प्रसूति गृहको दुईतले ६ कोठे भवन निर्माणका लागि निलगिरिखोला जलविद्युत् आयोजनाले २८ लाख ४९ हजार ७३० रुपैयाँ सहयोग गरेको वडाध्यक्ष फगामीले जानकारी दिए ।

नारच्याङ स्वास्थ्यचौकी परिसरमा निर्माण भएको भवनको भुइँ तलामा प्रसूतिगृह स्थापना भएको छ । माथिल्लो तलाको तीनवटा कोठामा स्वास्थ्यकर्मीलाई आवासको व्यवस्था मिलाइएको छ ।  

अन्नपूर्ण गाउँपालिकाको वडा नं १ दोवा र वडा नं ३ दानाबाहेकका स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन अन्नपूर्णलाई ‘होम डेलिभरी’ शून्य बनाइएको छ ।

घरमै शिशु  जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update