Odapalika - The Fourth Estate - चौथो अंग
नागढुङ्गा–नौबिसे सडक जाम छल्ने बैकल्पिक राजमार्ग अनिश्चितकालका लागि बन्द 

काठमाडौँ । नागढुङ्गा–नौबिसे सडकको जाम छल्न काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिकमार्ग अनिश्चितकालका लागि बन्द गरिएको छ । 

धार्के–ठूलोखोलामा दोस्रो तहको कालोपत्र सुरु भएकाले आइतवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको धुनीबेँसी नगरपालिका–५ का वडाअध्यक्ष विशाल भट्टराईले जानकारी दिए ।

धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु भएको छ । उनका अनुसार अत्यावश्यक बाहेकका सवारी साधनलाई बन्द गरिएको हो ।

उक्त सडकअन्तर्गत हाल धुनिबेँसी नगरपालिका–५ को बट्टारबाट अमलेश्वरी पार्कसम्म कालोपत्र भइरहेको सडक निर्माणको ठेक्का लिएको कम्पनी गोरखकाली कन्स्ट्रक्सनका साइट इन्चार्ज  रामचन्द्र न्यौपानेले जानकारी दिए ।

यस पटकको दसैँमा सवारी जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टा सीतापाइला–धार्के सडक प्रयोगमा ल्याइएको थियो । अधिकांश साना सवारी साधन सीतापाइला–धार्के हुँदै गुडेका थिए । नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यातायात व्यवसायीले दसैँमा उक्त सडक प्रयोग गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ । 

नागरिक स्तरबाट सडक स्तरोन्नतिको माग बढेपछि सरकारले उक्त सडकको काठमाडौँतर्फ पाँच किलोमिटर सडक विस्तार सुरु गरिसकको छ । सीतापाइला–धार्के सडक कुल २४ किलोमिटर लम्बाइ र सीतापाइला–रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्केमा जोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update