Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंकद्वारा सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता 

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी संचालन गर्नेछ । 

साथै, उक्त अवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत् जोड्नका निमित्त नेपाल विद्युत प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी दिए । 

यस परियोजनामा संलग्न लगानीकर्ता समुहद्वारा विभिन्न पाँच सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनाहरुमा समेत लगानी रहेको हु्ँदा यस समूह सौर्य उर्जा क्षेत्रमा नेपालकै अग्रणी समूह हो ।   

नेपालमा सञ्चालित सौर्य परियोजनाहरू मध्ये उक्त परियोजना सौर्य उर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हो । बैंकले नवीकरणीय र हरित ऊर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सौर्य तथा जलविद्युतमा सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्दै आएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update