Odapalika - The Fourth Estate - चौथो अंग
रविले हिरासतमा रहेकै बेला किन गरे लाइन परिवर्तन ?

काठमाडौँ । गत शुक्रबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रहरी नियन्त्रणमा छन् । उनलाई गोर्खा मिडिया प्रालिको प्रबन्ध संचालक रहेको बेलामा जिवी राईसँग मिलेर विभिन्न सहकारी संस्थाहरुको रकम हिनामिना गरेको आरोप लागेको छ ।

लामिछानेलाई प्रहरीले संगठित अपराधमा संलग्न भएको आशंकामा पनि अनुसन्धान थालेको छ । लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

प्रहरीले सहकारीको रकम हिनामिना र संगठित अपराधमा संलग्न रहेको आशंकामा लामिछानेलाई हिरासतमा लिएर अनुसन्धान थालेपछि रास्वपाका नेता कार्यकर्ता आन्दोलित भएका छन् । सरकारले बद्नियत राखेर आफ्ना सभापतिमाथि कारवाही थालेको तर कांग्रेस–एमालेका नेताहरुमाथि सहकारी ठगीको आरोप लागेपनि अनुसन्धान नै नगरिएको रास्वपाको आरोप छ ।

रास्वपा स्थापनाको इतिहास लामो छैन । गत आमनिर्वाचनको संघारमा जन्मिएको रास्वपा आफ्नो स्थापनाकालदेखि नै नेपाली कांग्रेस र त्यसमा पनि कांग्रेस महामन्त्री गगन थापाप्रति विशेष आलोचक थियो । रास्वपा सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र कार्यवाहक प्रवक्ता मनिष झा आफ्ना सार्वजनिक अभिव्यक्तिहरुमा गगन थापाप्रति तिखो प्रहार गरेर प्रस्तुत हुने गरेका छन् । यद्यपि, वाग्ले र झाले विगतमा कांग्रेस निकट हुदा महामन्त्री थापाबाट बढी नै राजनीतिक र आर्थिक लाभको अवसर प्राप्त गरेका थिए ।

रास्वपाको आन्तरिक रणनीति पनि थापाको आलोचनामा बढी शक्ति खर्च गर्ने भन्ने नै थियो । किनभने आफ्नो पार्टीलाई नेपाली कांग्रेसको विकल्पको पार्टी बनाउने र त्यसको लागि कांग्रेसको कमीकमजोरीलाई विशेष गरेर प्रचार प्रसार गर्ने रणनीति रास्वपाको छ । कांग्रेसलाई कमजोर बनाउन महामन्त्री थापालाई कमजोर बनाउनु पर्छ भन्ने विश्लेषण रास्वपाले गरेको छ । त्यसैले रास्वपाका नेता कार्यकर्ताहरु कांग्रेस र त्यसका महामन्त्री थापाको आलोचनामा बढी केन्द्रित देखिन्छन् ।

पार्टीको यही लाइन अनुसार नै गत शनिवार पोखरामा कार्यवाहक प्रवक्ता झाले नेपाली कांग्रेस र त्यसका महामन्त्री थापाविरुद्ध आक्रामक भाषण गरे । तर, आइतबार सभापति लामिछानेले अपेक्षा विपरित धारणा सार्वजनिक गरेपछि रास्वपामा अन्योल सिर्जना भएको छ भने उनले हिरासतमा लाइन परिवर्तन गरेको आभास नेता कार्यकर्ताले पाइसकेका छैनन् ।

आइतबार प्रहरीले लामिछानेलाई अदालतमा पेश गरेको थियो । उनलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने सरकारको भनाइ थियो । अदालतमा पेश हुने क्रममा लामिछानेले आफ्नो स्वभाविक र परम्परागत लाइन विपरित अभिव्यक्ति दिएपछि रास्वपामा अन्योल सिर्जना भएको हो ।

रास्वपा वा लामिछानेले अहिलेसम्म नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीको खास विरोध र आलोचना गरेको पाइएको थिएन । तर, आइतबार पोखरामा लामिछाने एमाले अध्यक्ष ओलीप्रति निकै कडा सुनिए । उनले भनेका थिए– ‘मलाई जस्तै डेढ वर्ष लगाएर (केपी) ओलीलाई छानविन गर्ने हो भने सबैभन्दा भ्रष्टाचारमा उभिएको मानिस केपी ओली हो । उनी देशको प्रधानमन्त्री हुनु दुर्भाग्य छ ।’

लामिछानेको यो अभिव्यक्ति आफैमा आश्चर्यजनक छ । किनभने लामिछानेको व्यक्तित्व बनाउन प्रधानमन्त्री ओलीको विशेष भूमिका छ । ओली पहिलो पटक प्रधानमन्त्री भएको बेलामा नै लामिछानेलाई नेपाल टेलिभिजनबाट ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम संचालन गर्न दिएका थिए । लामिछानेको सार्वजनिक व्यक्तित्व सोही कार्यक्रमपछि बनेको हो । ओली प्रधानमन्त्रीबाट हटेर प्रचण्ड प्रधानमन्त्री बनेपछि लामिछानेलाई कार्यक्रम हटाइएको थियो । अनि लामिछानेले न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाएका थिए ।

त्यतिमात्रै होइन, रास्वपा गठन गरेपछि पनि ओलीले लामिछानेलाई विशेष प्रेम गरेका थिए । ओलीको पहलमा नै लामिछाने पहिलो पटक उपप्रधान तथा गृहमन्त्री भएका थिए । ओलीको विशेष आग्रहमा नै तत्कालिन प्रधानमन्त्री प्रचण्डले लामिछानेको दोहोरो राहदानी प्रयोग सम्बन्धी मुद्दालाई महान्यायाधिवक्ता मार्फत तामेलीमा राखिएको हो । ओलीले लामिछानेलाई दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री बनाए भने लामिछाने विरुद्ध कांग्रेसले सहकारी ठगीमा संसदीय छानविनको माग गर्दै संसद अवरोध गर्दा पनि ओली लामिछानेको पक्षमा खुलेका थिए ।

कांग्रेसले संसदीय छानविनको माग गरिरहदा पनि लामिछाने र रास्वपा कांग्रेस महामन्त्री थापाविरुद्ध मात्रै खनिन्थे । लामिछाने र रास्वपाको दोस्रो प्रहारमा भने वर्तमान परराष्ट्रमन्त्री डा. आर्जु देउवा थिइन् ।

रास्वपा र लामिछानेको प्रहारको केन्द्रमा कुनै पार्टीको अध्यक्ष वा सभापति मात्रै होइन, प्रधानमन्त्री पनि परेको थिएन । कुनै पार्टीको तेस्रो/चौथो तहको नेताको एकोहोरो विरोध गरेर विश्वमा विरलै देख्न पाइने गतिविधिमा रास्वपा रमाइरहेको थियो ।

रास्वपा र लामिछानेको यही विगतको अनुसरण गर्दै गत आइतबार पनि कार्यवाहक प्रवक्ता मनिष झा कांग्रेस महामन्त्री थापाप्रति कटाक्ष गरिरहेका थिए । 

किन गरे रविले लाइन परिवर्तन ?

रविले लाइन परिवर्तन गरेको हो वा प्रहरी हिरासतमा पुगेपछि संयमता गुमाएर जसलाई जे मनलाग्छ त्यही भनेको हो भन्नेमा अझै यकिन भने भइसकेको छैन । यदि उनले लाइन परिवर्तन गरेर ओली विरुद्ध खनिने रणनीति बनाएको हो भने त्यसले अबको राजनीतिको परिदृश्य परिवर्तित देखिनेछ ।

अहिले ओलीलाई सबैभन्दा बढी आलोचना गर्ने व्यक्ति काठमाडौँ महानगरका मेयर बालेन शाह हुन् । बालेनलाई रिझाएर आफ्नो पार्टीमा ल्याउन सकिन्छ कि भनेर लामिछानेले ओलीको आलोचना गरेको हो कि भन्ने पनि देखिन्छ ।

अर्काे कारण के हुन सक्छ भने लामिछानेलाई ओलीले जति गुन लगाएका छन्, त्यति गुन अरु कसैले लगाउन सकेको छैन । विगतमा लामिछानेले सबैभन्दा आशा राखेको र प्राप्त गरेको ओलीबाटै हो । तर, लामिछाने अहिले प्रहरी हिरासतमा छन् । उनी हिरासतमा पुग्नुको एउटा कारण संसदीय छानविन समितिले गरेको सिफारिस पनि हो । सो समितिको सभापति ओलीका विश्वासपात्र सूर्य थापा थिए । अहिले ओली प्रधानमन्त्री छन् । संसदीय छानविन समितिले आफूलाई दोषी देखाएर छानविनका लागि सरकारलाई सिफारिस गरेको र त्यसैका आधारमा सरकारले आफूलाई कारवाही थालेको लामिछानेको बुझाइ छ । त्यसैले आफूले सबैभन्दा आशा राखेको व्यक्तिप्रति सबैभन्दा बढी दुःखमा रहेका बेलामा लामिछानेले आक्रोश पोखेका हुन सक्छन् ।

अर्काे कारण, अब राजनीतिक समिकरण परिवर्तन हुन्छ । विगतमा कांग्रेसप्रति घृणात्मक बनेर आफूहरुले गल्ती गरेको महसुस रास्वपा र लामिछानेले गरेका हुन सक्छन् । त्यसैले कांग्रेससँग सम्बन्ध सुधार गर्नको लागि लामिछानेले प्रधानमन्त्रीप्रति आक्रोस पोखेका हुन सक्छन् । यद्यपि, लामिछाने किन प्रधानमन्त्री ओलीप्रति यति रुष्ट देखिए भन्ने स्पष्ट हुन केही समय भने कुर्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update