Odapalika - The Fourth Estate - चौथो अंग
धरानका मेयर हर्क साम्पाङविरुद्ध अदालतको अवहेलनाकाे मुद्दा चलाउने तयारी 

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यवाहकको जिम्मेवारी वडाध्यक्षलाई दिएपछि यसको विवाद अदालतसम्म पुगेको छ । 

वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्रकु्मार फागुलाई कार्यवाहक दिएर मेयर साम्पाङ बेलायत पुगेका छन् । तर, वडाध्यक्षलाई दिएको कार्यवाहक कानुनविपरीत रहेको भन्दै उपमेयर आइन्द्रविक्रम बेघा यही कात्तिक ४ गते उच्च अदालत विराटनगर अदालत पुगे । 

यसप्रति सुनुवाइ गर्दै अदालतले वडाध्यक्ष फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न आदेश दियो । तर, यस आदेशलाई मेयर साम्पाङ र वडाध्यक्ष फागुले अटेर गरेपछि फेरि उनीहरुविरुद्ध मानहानिको मुद्दा चलाउने तयारी भएको छ । 

अदालतको पत्र बुझ्न नमानेको र आदेशलाई अटेर गरेर वडाध्यक्ष फागु मेयरकै कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी निभाइरहेका छन् । उता बेलायतमा रहेका मेयर साम्पाङले पनि आफूलाई अदालतले मेयर नबनाएको भन्दै आफ्नो निर्णयबाट पछि नहट्ने बताएका छन् । 

‘मलाई कुनै अदालतले चुनेको होइन । लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो ! म ५ वर्षसम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनु भएको हो । मैले नागरिकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यवाहक छोडेको छु । मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक । केही हल्ला नगर । मुख छाड्नु नपरोस् । धरानको विकासको लागि म दुई दिन युके आउँदा बद्नाम गर्दै नबस है,’ मेयर साम्पाङले सोमबार साँझ फेसबुकमा लेखेका छन् । 

मेयर साम्पाङ र वडाध्यक्ष फागु दुवै अदालतको आदेश नमान्ने र आदेशविपरीत अभिव्यक्ति दिएपछि अवहेलनाको मुद्दा चलाउने तयारीमा अधिवक्ताहरु रहेका उपमेयर बेघाको सचिवालयले जानकारी दिएको छ । 

‘उहाँहरु अदालतको आदेश नमान्ने, मैले बोलेको र गरेको नै कानुन हो भन्ने,’ सचिवालय सदस्यले भने, ‘यहाँका वकिलहरु अवहेलनाको मुद्दा चलाउने कुरा गर्नु भएको छ ।’ 

उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने साम्पाङको पत्र कार्यान्वयन नगर्न आदेश दिएका थियो । सो  मुद्दाको सुनुवाइ मंगलबार हुँदै छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update