Odapalika - The Fourth Estate - चौथो अंग
उपनिर्वाचन हुन लागेको महाबु गाउँपालिकामा प्रमुख तीन दलको यस्तो छ अंकगणित

काठमाडौँ । स्थानीय तहमा रिक्त पदपूर्तिका लागि आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । सम्बन्धित् स्थानीय तहमा चुनावी माहोल तात्न थालेको छ । 

२०७९ सालमा भएको निर्वाचनमार्फत विजयी भएका जनप्रतिनिधिको मृत्युलगायतका कारणबाट ३९ स्थानमा पद रिक्त भएपछि आयोगले मंसिर १६ गते उपनिर्वाचन गर्न लागेको हो । यसका लागि दल दर्तादेखि अधिकृतको कार्यालय रहने स्थानसमेत तोकिएको छ । 

दैलेखको महाबु गाउँपालिकामा पनि अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । २०७९ साल माघमै अध्यक्ष लछुमन गुरुङको निधन भएपछि उपनिर्वाचनमार्फत पदपूर्ति गरिन लागेको हो । सो गाउँपालिकामा अहिले उपाध्यक्ष मञ्जुकुमारी शर्माले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेकी छन् ।

२०७८ को जनगणनाअनुसार १८ हजार ५९ जनसंख्या भएको यो गाउँपालिकामा १२ हजार २१७ मतदाता रहेका छन् । यस गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ । 

 यस्तो छ २०७९ को चुनावी अंकगणित 

महाबु गाउँपालिकाका ६ वडा वडामध्ये २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले अध्यक्ष, उपाध्यक्षमा निर्वाचित हुँदै ३ वटा वडामा क्लिनसिप गरेको थियो भने १ वटा वडामा अध्यक्षबाहेक सबै सदस्यमा निर्वाचित भएको थियो । 

माओवादी केन्द्रले २ वटा वडामा अध्यक्षमा निर्वाचित हुँदा एमालेले एउटा वडामा क्लिनसिप गरेको थियो । माओवादीले वडाध्यक्ष जितेको एउटा वडामा कांग्रेसले सदस्यमा क्लिनसिप गर्दा एउटा वडामा माओवादीले एउटा वडा सदस्य र एकीकृत समाजवादीले दुईवटा वडा सदस्यमा जितेको थियो । 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार लछुमन गुरुङ ४६० मतान्तरले निर्वाचित भएका थिए । गुरुङले २९७९ मत ल्याएर विजयी हुँदा उनका निकटतम  प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरिप्रसाद उपाध्यायले २५१९ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार मञ्जुकुमारी शर्मा ८५४ मतान्तरले निर्वाचित भएकी थिइन् । उनले ३१५५ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार दुर्गाकुमारी सिंहले २३०१ मत ल्याएकी थिइन् । 

६ वडा बडामध्ये वडा १ मा एमालेका सर्बराज सार्कीले ६९२ मत ल्याएर विजयी हुँदा कांग्रेसका सूर्यराम सावद ६३६ मतसहित पछ्याएका थिए । यो वडामा एमालेले क्लिनसिप गरेको हो । चारवटै वडा सदस्यमा एमाले निर्वाचित भएको छ । यसमा सबै पदमा कांग्रेसले पछ्याएको थियो । 

वडा २ मा कांग्रेसले क्लिनसिप गरेको हो । यस वडामा कांग्रेसका प्रकाशराज थापाले ८४८ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तीर्थकुमार रावतले ४९९ मत ल्याए । चारवटै सदस्यमा कांग्रेस निर्वाचित हुँदा एमालेले पछ्याएको थियो । 

वडा नम्बर ३ मा पनि कांग्रेसले क्लिनसिप गर्दा एमालेले नै पछ्याएको थियो । कांग्रेसका कृष्णकुमार दाहाल ६९५ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा एमालेका चन्द्रप्रसाद दाहालले ६३६ मत ल्याएका थिए । 

वडा नम्बर ४ मा पनि कांग्रेसले नै क्लिनसिप गरेको थियो । यस वडामा पनि कांग्रेसलाई एमाले र एकीकृत समाजवादीले पछ्याएको थियो । 

कांग्रेसका रामबहादुर शाही १२ मतले वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले ३८६ मत ल्याएर जित्दा एमालेका विनोदकुमार बुढाले ३७४ मत ल्याएका थिए ।  चारवटै सदस्यमा कांग्रेसका उम्मेदवार निर्वाचित हुँदा एमाले र एकीकृत समाजवादीका उम्मेदवारले पछ्याएका थिए । 

वडा नम्बर ५ मा माओवादी केन्द्रका दिपबहादुर शाही ६९९ मत ल्याएर अध्यक्षमा निर्वाचित हँुदा एमालेका उम्मेदवार सूर्यबहादुर शाहीले २३० मत ल्याएर पछ्याएका थिए । यस वडामा ३ वटा सदस्यमा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित हुँदा माओवादीका एकजना सदस्य निर्वाचित भएका थिए । 

वडा नम्बर ६ मा पनि माओवादी केन्द्रकै उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्द्रका रेशमबहादुर थापा मगर ४१२ मतसहित निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार हर्कबहादुर शाही ३१७ मत ल्याएर पछ्याएका थिए । यस वडामा ३ वटा सदस्यमा कांग्रेसका उम्मेदवार निर्वाचित हुँदा एउटामा एकीकृत समाजवादीको उम्मेदवार निर्वाचित भएका थिए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update