Odapalika - The Fourth Estate - चौथो अंग
उपमेयरलाई कार्यवाहक दिएर कता हिँडे धुलिखेलका मेयर ?

काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षाले पानीका मुहानमा पहिरो गएको तथा खानेपानीका पाइप नै बगाएको कारण अहिले धुलिखेल नगरपालिका क्षेत्रमा खानेपानीको हाहाकार छ ।

यस्तै, बाढी पहिरो पिडितलाई राहत उपलब्ध गराउने तथा पुननिर्माणका लागि पनि स्थानीय सरकार र त्यसका प्रमुखको भूमिका अहिले धेरै नै महत्वपूर्ण छ । यही समयमा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु भने उपमेयरलाई कार्यवाहक दिएर हिडेका छन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ को प्रावधान अनुसार ७ दिनभन्दा बढी अुनपस्थित हुने भएमा मेयरले उपमेयरलाई कार्यवाहक दिनुपर्छ । मेयर ब्यान्जु कात्तिक ५ गतेदेखि लागू हुने गरी उपमेयर निराजन जंगमलाई कार्यवाहक दिएर हिडेका हुन् ।

‘मेयरज्यू अहिले निजी काममा हुनुहुन्छ । मलाई कात्तिक ५ गतेदेखि कार्यवाहकको जिम्मेवारी दिइएको छ,’ उपमेयर जंगमले वडापालिकासँग भने ।

अहिले मेयर बेन्जु कहाँ गए भनेर धुलिखेल नगरपालिका क्षेत्रभित्र विभिन्न प्रकारका हल्ला चलेका छन् । उपमेयर जंगमले मेयर ब्यान्जु पारिवारिक भ्रमणमा खोटाङतिर गएका जानकारी दिए । मेयर ब्यान्जुले पनि आफ्नो समाजिक संजाल फेसबुकमा खोटाङको हलेसी महादेवको दर्शन गरेको र सोलुखूम्बुको सोलु एमफएमलाई अन्तरवार्ता दिएको लिंक सेयर गरेका छन् ।

तर, धुलिखेल नगरपालिका क्षेत्रभित्र भने मेयर ब्यान्जुको आचारणलाई जोडेर विभिन्न टिकाटिप्पणी भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update