सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू बेलायत भ्रमणमा जाँदा कार्यवाहक मेयरको जिम्मा वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्रकुुमार फागुलाई दिए । मेयर साम्पाङले आफूलाई कार्यवाहक नदिएको भन्दै उपमेयर आइन्द्रविक्रम बेघा यही कात्तिक ४ गते उच्च अदालत विराटनगर पुगे । उच्च अदालतले वडाध्यक्ष फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने मेयर साम्पाङको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ । उच्च अदालतले छलफलका लागि मंगलबार दुवै पक्षलाई बोलाएको थियो । अर्काे पेसी यही कात्तिक १३ गतेलाई तोकिएकाले यसअवधिसम्मका लागि आफ्नो आदेशलाई अदालतले निरन्तरता दिएको छ । कार्यवाहकको जिम्मेवारी, अदालतको आदेश, सेवा प्रवाहमा समस्यालगायतका विषयमा लोकेन्द्रकुमार फागुसँग वडापालिकाले गरेको कुराकानी :
मेयर विदेश भ्रमणमा हुनुहुन्छ, उहाँले तपाइँलाई कार्यवाहकको जिम्मेवारी दिनु भएको थियो । कार्यवाहक मेयरको जिम्मेवारी सम्हालिरहनु भएको छ ?
अहिले कार्यवाहक मेयरको जिम्मेवारी निर्वाह गरेकाे छैन । उहाँ (मेयर) विदेश जाँदा मलाई कार्यवाहकको जिम्मेवारी दिनुभएको थियो । तर, उच्च अदालत विराटनगरले मलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाले यो भूमिकामा अहिले छुइन ।
कहिलेदेखि कार्यवाहकको जिम्मेवारी वहन गर्न छाड्नु भयो ?
म विधिको शासन मान्छु । अदालतको आदेश स्वीकार्ने व्यक्ति हुँ । जुन दिन अदालतको आदेशसहितको पत्र बुझेँ, उही दिनबाट कार्यवाहकको जिम्मेवारी वहन गर्न छाडेँ ।
सोमबारसम्म कार्यवाहक मेयरकै हैसियतले फाइलामा हस्ताक्षर गर्नुभएको थियो । अदालतको पत्र कहिले बुझ्नु भएको हो ?
हेर्नुहोस्, मैले अघि नै भनिसकेँ, म विधिकिो शासन मान्ने व्यक्ति हुँ । अदालतको आदेश स्वीकार्ने मान्छु हुँ । अरुले के गर्छन्, कसो गर्छन्, म जान्दिनँ । तर, म विधि, कानुनअनुसार चल्ने गर्छु । अस्ति सोमबार अदालतको पत्र अपरान्ह ३ बजेतिर बुझेँ । अदालतको पत्र बुझेलगत्तै मैले कार्यवाहक मेयरको जिम्मेवारी छाडेँ । पत्र बुझेपछि उपमहानगरको कार्यालय जान छाडेँ ।
अदालतको पत्र बुझेपछि वडा कार्यालयको जिम्मेवारीमा फर्कनुभयो ?
छैन । यता (कार्यवाहक मेयर)को जिम्मेवारी सम्हाल्नुपर्ने भएपछि मैले पनि वडाध्यक्षको जिम्मेवारी सदस्यलाई कार्यवाहक दिएको थिएँ । म बचनको पक्का मान्छे हुँ । कार्यवाहक दिइसकेकाले वडा कार्यालय पनि गएको छैन । भोलिबाट सकिँदै छ । यसपछि वडा कार्यालय जान्छु ।
कार्यवाहकको विषय विवादमा पर्दा उपमहानगरले प्रवाह गर्ने सेवा प्रभावित भयो नि, हैन ?
हो नि । उहाँ (मेयर हर्क साम्पाङ)ले जाने हो या नजानेर हो, मलाई कार्यवाहक दिनुभयो । मेयरले दिएको जिम्मेवारी निर्वाह गर्नु मेरो दायित्व हो । तर, जो यो निर्णयविरुद्ध अदालत जानुभयो । उहाँलाई पनि अदालतले कार्यवाहकको जिम्मेवारी सम्हाल्न आदेश दिएन । अहिले न म कार्यवाहक रहेँ, न उहाँ (उपमेयर आइन्द्रविक्रम बेघा)ले नै कार्यवाहक पाउनुभयो । यसले गर्दा उपमहानगरबाट प्रवाह हुने सेवा प्रभावित हुन पुगेको छ । उपमहानगरमा विभिन्न रोगले ग्रसित छन् जनता, उनीहरुलाई उपचारका लागि दिनुपर्ने सिफारिस रोकिन पुगेको छ । यसप्रति मलाई दुःख लागेको छ । हामीले जनता बचाउनुपर्छ । तर, सिफारिस दिने विषय अन्योल रह्यो । याे विषयले मलाई सारै दु:ख लागेकाे छ ।