Odapalika - The Fourth Estate - चौथो अंग
अमेरिकाबाट वडाध्यक्ष नफर्किएपछि कार्यालयमा तालाबन्दी 

काठमाडौँ । खोटाङकाे साकेला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कटवाल अमेरिकाबाट नफर्किएछि कार्यालयमा तालाबन्दी गरिएको छ । 

अमेरिका गएको एक वर्ष पुग्न लाग्दा पनि वडाध्यक्ष कटवाल नफर्किएपछि बुधबार विभिन्न राजनीतिक दलका नेताहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 

वडाध्यक्ष कटवाल अमेरिकाबाट नफर्किएकाले हिजो (बुधबार) सर्वपक्षीय समितिले वडा कार्यालयमा तालाबन्दी गरेको वडासचिव कोपिलामणि ढकालले वडापालिकालाई जानकारी दिए । ‘वडाध्यक्षज्यू अमेरिकाबाट नफर्किएको भन्दै हिजो सर्वपक्षीयले तालाबन्दी गर्नुभएको हो,’ उनले भने, ‘उहाँ (वडाध्यक्ष) अमेरिका गएको एक वर्ष पुग्न लागिसक्यो ।’

मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले वडाध्यक्षको मागसहित तत्काल समस्या समाधान गर्नुपर्ने भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको हो । 

यसअघि गएको गत साउन २१ गते समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो । तर, वडाध्यक्ष कटवाल अमेरिकाबाट नफर्केको र अर्काे विकल्प पनि नदिएकाले समितिले तालाबन्दी गरेको हो । 

अमेरिका जाँदा कटवालले वडा सदस्य भीमबहादुर खड्कालाई कार्यवाहक दिएका थिए । तर, यो कार्यवाहकको अवधि पनि सकिएको वडासचिव ढकालले बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update