भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुर बहुमुखी क्याम्पसको गेट, खानेपानी ट्याङ्कीलगायतका संरचना भत्काएको छ ।
क्याम्पससँगै रहेको भाजु पोखरीको दक्षिणतर्फ २) फिटको सडक खोल्न भन्दै नगरपालिकाले क्याम्पस प्रशासनलाई कुनै जानकारी नै नदिइ क्याम्पसको संचरनामा दुई डोजर चलाएर भत्काएपछि क्याम्पस प्रशासनले सुरक्षाको माग गरेको छ ।
क्याम्पस प्रमुख कविता लुइँटेलले त्रिभुवनविश्व विद्यालयअन्तर्गत रहेको सो क्याम्पसमा नगरपालिकाले संरचना भत्काएको बताइन् । उनका अनुसार पोखरीमा बाटो बनाउन नगरपालिकाले क्याम्पसको जग्गा मागिरहेको थियो । क्याम्पसले दिन नमिल्ने बताएपछि नगरपालिकाले डोजर लगाएर भत्काइदिएको हो ।
त्रिभुवन विश्वविद्यालयले गठन गरेको जग्गा छानविन आयोगले बुधबार मात्रै स्थलगत अवलोकन गरेर गएको र त्यसको प्रतिवेदन बुझाएपछि आएको निर्णयानुसार दुवैको सहमतिमा काम गर्ने भनेर सहमति विपरित नगरपालिकाले संरचना भत्काएको क्याम्पस प्रमुखको आरोप छ ।
क्याम्पस कल्याण कोषका संयोजक शेरसिंह राईखोलाले नगरपालिकासँग कसरी सहमति गरेर जान सकिन्छ भनेर पटक पटक आफै बसेर छलफल गरिरहेको अवस्थामा अचानक सरकारी संरचनामाथि डोजर चलाएर क्याम्पसको जग्गा कब्जा गरिएको बताए ।
विद्यार्थी नेता चुडामणि पौडेलले क्याम्पसको जग्गा कब्जा गरेर नगर प्रहरी र यहाँ आएका कर्मचारीले विरोधमा उत्रिएका विद्यार्थी तथा क्याम्पस कर्मचारीमाथि हातपात गरेको बताए ।
नगर प्रमुख सुनिल प्रजापतिले भाजु पोखरी निर्माण सम्पन्न भइसकेको अवस्थामा क्याम्पसले ओगटेको जग्गामा २० फिटको सडक बनाउन खोज्दा वर्षौदेखि अटेर गरि बसेकाले बाध्य भएर डोजर चलाउनुपरेको बताएका छन् ।