Odapalika - The Fourth Estate - चौथो अंग
विपत्तिमा ललितपुर : उदासिन जनप्रतिनिधि, कहिले चेत्ने ? 

मौसमजन्य विपदका कारण ललितपुरको दक्षिणी भेकमा रहेको महाँकाल गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वैतरणीधाम क्षेत्र खण्डहरमा परिणत भएको छ । वैतरणीधाम परिसरसँगै यस क्षेत्रकै पहिलो र एकमात्र निजी विद्यालय हिलसाइड अँग्रेजी स्कूल, यस भेककै पहिलो साना जलविद्युत उत्पादन केन्द्र महाँकाल घट्टे विजुली, होमस्टे लगायतको नामोनिसान सकिएको छ । 

वैतरणी धाममा आएका पर्यटकहरुलाई पूजा सामग्रीदेखि खाना र आवासको व्यवस्थापन गर्ने गरी त्रिवेणीमा सञ्चालन गरिएको पुजापसल सहितको होमस्टे सञ्चालक ईश्वर तिमल्सिना आमा र श्रीमतीसहित पहिरोमा परेर मृत्युवरण गरेका छन् । विपतको इपिसेन्टर मानिएको महाँकालको पनि सबैभन्दा बढी क्षति भएको यो क्षेत्रमा टुगुन खोलाले यो रुप ४३ वर्षपछि देखाएको हो । 

२०३८ साल असोज १३ गते यस क्षेत्रमा धेरै ठूलो क्षति भएको थियो । विद्यालय, सामुदायिक भवनहरु, पसल, निजी घरहरु सम्पूर्ण रुपमा खण्डहर भएको त्यस विपतपछिका ४ दशकमा निर्माण भएको यहाँको भौतिक तथा सांस्कृतिक विकास सहितको एउटा सभ्यता इतिहासमा रुपान्तरण भएको छ । 

महाँकालसँगै कोञ्ज्योसोम र वागमती गाउँपालिकाले विपतको निकै कठिन अवस्था झेल्नुपरेको छ । ललितपुरमै ४० जनाको मृत्यु भइसकेको छ भने सङ्ख्या बढ्ने क्रममै छ । अरबौंको सार्वजनिक सम्पति र विकास क्षणभरमा खण्डहर भएको छ ।

अरबौंको निजी घर जग्गा जमिन तथा सम्पति बगरमा परिणत भएको छ । नेपालको संघीय राजधानी काठमाडौं र देश चलाउने मुख्य अड्डा सिंहदरवारको छेवैमा रहेको एउटा भेग जो ललितपुरका नाममा पनि पीडित छ, यसका नाममा देश चलाउने प्रमुख व्यक्तिहरु गज्जवले भिड्छन् तर जनता वास्तवमै पीडामा पर्दा जनताका प्रतिनिधि भन्नेहरु न कोही बोल्छन् न कसैले चित्कार सुन्छन् । 

यस वर्षको मौसमजन्य विपदको इपिसेन्टर जस्तै मानिएको ललितपुर जिल्लाको दक्षिणी क्षेत्र दुई साता पूर्ण रुपमा सञ्चार सम्पर्क विच्छेद भयो । यातायात महिना दिन हुँदा पनि सहज भएको छैन । शाखा सडकहरु त कति समयसम्म नबन्ने हो झन् ठेगान छैन । 

हरेक वर्ष कुनै न कुनै सामाजिक वा सार्वजनिक कार्यक्रमका नाममा संघ संस्था वा व्यक्तिको लगानीमा हेलीकोप्टरमा देशका शक्तिशाली नेताहरु सवारी गराउने पहुँच र सामथ्र्य राख्ने नेताहरुले प्रतिनिधित्व गर्ने ललितपुरको क्षेत्र नं १ यस पटकको विपद्मा शोकमग्न र सुनसान देखियो । 

बाढी र विपतले बाटो फेरेपछि भने उद्धार र राहतका नाममा भएका क्रियाकलापहरुले आफैंभित्रका अस्वस्थता र अनावश्यक प्रतिष्पर्धाहरु समेत देखिए । यस्तो बेलामा जिल्ला विपद व्यवस्थापन संयन्त्रको वैठकको निर्णयअनुसार उद्धार र राहतमा सक्रिय नेपाली सेनाको टीम र हेलीकोप्टरले गरेका उद्धारका काममा समेत पार्टीका फलानो नेताको पहलमा भन्दै फोटो भिडियो र स्टाटसका बाढी बगाउने कार्यकर्ता र तिनैका विश्वासमा मतदान गर्ने जनताको लाम हुञ्जेल यो भेगलाई कसैले पछाडी पारिदिएको भन्न पनि नमिल्ला ।

आज विपतका बेलामा सम्पर्कविहिन अवस्थाको नियति झेल्दै गरेको दक्षिण ललितपुर र यति ठूलो क्षति संघीय काठमाडौं उपत्यकाभित्र कसरी भयो ? भन्ने प्रश्नहरुले धेरै घोत्लिन बाध्य बनाएको छ । 

पानी नै हो त विपतको कारक ?

मौसमजन्य विपतको मुख्य कारण त पानी नै हो । तर वर्षातमा परेको पानीको ठिक ढंगको व्यवस्थापन नहुनु, जमिनमुनिको पानीको सतह र नवीकरण प्रक्रिया सन्तुलित नहुनु, भौगर्भिक र पर्यावरणीय पक्षको ख्याल नगरी भौतिक निर्माण लगायतका कामहरु हुनु विपतका कारणहरु हुन् ।

प्राकृतिक भन्दा मानव सिर्जित क्रियाकलापहरु विपतका कारणहरु हुन् । ललितपुरमा भएको यो क्षतिको कारण पनि प्राकृतिक रुपमा परेको पानीभन्दा बढी मानव सिर्जित प्रकृति विरुद्धका क्रियाकलाप हुन् । पानीको निकास अवरुद्ध हुने गरी अव्यवस्थित रुपमा गरिएका प्लटिङ, जथाभावी खनिएका पहाडी ग्रामीण सडक, जथाभावी गरिएको ढुंगा गिट्टीको उत्खनन्, वालुवा प्रशोधनका नाममा भएका अवैध उत्खनन् नै यो विपत्तिका कारक हुन् । 

वातावरणीय परीक्षण बेगर खनिएका सडकहरुका कारण वर्षेनी सानातिना भेलबाढी र स्वाभाविक भूक्षयकै कारणले ललितपुरको ग्रामीण क्षेत्र वस्तीविहीन भइरहेको थियो । यो विपदपछि बढ्ने विस्थापितको संख्या र स्वरुप विग्रने आवासीय वस्तीको तथ्याङ्क डरलाग्दो हुनेछ । 

अदूरदर्शी विकास नीति, अपारदर्शी कार्यशैली र अल्पकालीन सोचका कारण नागरिकले केही सानोतिनो रोजगारी पाए, केही हजार र लाखको तरकारी घरैबाट बेच्न सम्भव भयो तर अरबौंको सार्वजनिक सम्पति र विकास खण्डहर भयो । दशकौं लगाएर निर्माण भएको सभ्यताको अन्त्य भयो । 

हालसम्ममा यही कारण ४० जनाको जीवन समाप्त भयो, उनीहरुसंग आश्रित परिवारको घरको ढोका बन्द भयो । तर यही अदूरदर्शी विकासका योजनाकार र अगुवाहरु, अझ विचौलिया, ठेकेदार, दलालहरुको रजगज राहत, पुननिर्माण र पुनस्थापनाका नाममा हुँदैछ, हुनेछ । यसलाई नागरिकले कसरी लिने ?

२०३८ साल, २०४५ सालमा कठिन विपत झेलेको ललितपुर आज ४ दशकपछि सम्म पनि उही अवस्था झेलिरहनुपर्ने अवस्थामा हुनुको दोषी यो विपतमा पुरिने नागरिकहरु हो ? सिंहदरवारबाट २० किलोमिटर एयर डिस्टान्समा रहेको भूगोलका नागरिक १४ दिनसम्म टेलिफोन सम्पर्कविहीन हुनुपर्ने अवस्थामा पुर्याएको कसले ? के त्यो बाढीमा बग्दै जीवन सक्ने ईश्वर तिमल्सिनाहरुको कमजोरीले यो दिन आएको हो ? यो विषयमा सोच्ने कि नसोच्ने ? सोध्ने कि नसोध्ने ?

कसको जिम्मेवारी ?

सिंहदरवारको छेउ, मन्त्री क्वाटरदेखि युएनको कार्यालय र स्वीस दुतावासदेखि महत्वपूर्ण कुटनीतिक नियोगका कार्यालयको छेवैमा रहेको यो भूभागमा नागरिकहरुको जीवन यतिधेरै असुरक्षित भईरहेको यथार्थ बोकेर हामी कसरी नागरिकको सुरक्षित आवास र सुरक्षित जीवनको ग्यारेण्टी अनि विकासको समानताको कुरा गरिरहेका छौं ? 

जनप्रतिनिधिहरुलाई लाग्न सक्छ आफूले प्राप्त गरेको मत वा कूल मतदाता वा कूल जनसङ्ख्याको तुलनामा मृतक र वेपत्ताको सङ्ख्या प्रतिशतमा न्युन हो, तर नागरिकको जीवनमा त्यो मृत्यु, बेपत्ता, अङ्गभङ्ग वा विस्थापितको जीवन सम्पूर्ण हो । सतप्रतिशत हो । तपाईहरुले यति संख्याको अभावमा अर्को जिम्मेवारी पाउनबाट रोकिनु हुनेछैन तर उनीहरु यो संसारमा सधैका लागि सकिएका छन् । 

यस्तो बेलामा तपाईहरु राजधानीका आफ्ना सुविधा सम्पन्न ठाउँमा मोवाइल अफ गरेर बस्नुको सट्टा पहिले पहिले अरु कार्यक्रममा प्रमुख अतिथि लिएर गए जसैगरी हेलीकोप्टर लिएर पुगिदिएको भएउ नीहरु बाँच्न सक्थे कि ? पानी पर्न लाग्नासाथ विजुलीको लाइन अफ गर्नुपर्ने र विजुली वत्ति अफ हुनासाथ मोवाइल नेटवर्क सकिने अवस्था नभएको भए पीडितहरुले आफूहरु विपत्तिमा फसेको र उद्धारको हारगुहार गर्न पाएको भए उनीहरु बाँच्न सक्थे कि ? 

छातीमा हात राखेर सोच्नुस् त यस्तो तपाईहरुलाई लाग्दैन ? अनि भूकम्पले थिलथिलो भएका, भिराला र चिराचिरा भएका जमिनमा बसेका तिनै नागरिकले मत दिएर जितेका तपाईहरुलाई उनीहरुको वस्न अयोग्य भनिएको वस्ती स्थानान्तरण गरिदिन पाएको भए यी नागरिकहरु बाँचिरहेका हुन्थे भन्ने लाग्दैन ? तपाईहरुलाई नलागे पनि मृतकका आफन्तलाई जीवनभर यो लागिरहनेछ । आफन्त, साथीभाइ र इमानदार नागरिकहरुलाई यो लागिरहनेछ । 

आजको प्रविधियुक्त समयमा सेना र प्रहरीले काँधमा नोल लगाएर जेनेरेटर बोकेर लगी टेलीकम्युनिकेसनको नेटवर्क चलाइँदैछ भन्ने स्टाटस गर्वसाथ पोष्ट र शेयर गर्दा तपाईहरुलाई लाज लाग्दैन ? तर हरेक स्वाभिमानी नागरिकलाई लाज लाग्ने यी अवस्थाको जिम्मेवार तपाईहरु हुनुपर्छ । 

जे रोप्यौं त्यही फल्यो 

भनिन्छ कि नीमको विरुवा रोपेर सुन्तलाको फल खोज्नुभन्दा मुर्खता केही हुन्न । हो त्यस्तै महसुस भएको छ आज ४ दशकको सभ्यता खण्डहर हुने अवस्थालाई फर्किएर हेर्दा । यो नियति हाम्रा आफ्नै कर्मले निम्तिएको हो । हाम्रै विकासको मोडलको अदूरदर्शिताले यसरी वस्ती र विकास सखाप भयो ।

हाम्रै राजनीतिक सुझबुझको अभावले कृतघ्न जनप्रतिनिधिहरु नेतृत्वमा रहीरहे । एउटा अजङ्गको बेकामे बुढो रुखले सैयौ फूलकाबोटहरु उम्रनबाट रोक्ने अवस्था निर्माण भइरह्यो । फल नलाग्ने एउटा रुखले सैयौं फल राख्ने जवान बृक्षहरु हुर्कन नपाउने अवस्था भयो । विपतबाट विउँझेर उठ्ने बेलामा यी केही थप विषयहरु सोचिएनन् भने यस्ता विपत्तिसंगै क्षतिहरु झन् बढ्नेछन् । रुवाइ र पीडाका पर्वतहरु अझै ठडिनेछन् । फल फलिसकेपछि रुखलाई गाली गर्नुभन्दा विउ रोप्ने र विरुवा बढ्ने बेलैमा ध्यान दिने सद्बुद्धि पो खोज्ने हो कि ?

र अन्त्यमा 
विपतग्रस्त क्षेत्रहरुमा डुल्दै केही थान राहतका प्याकेटहरु वितरण गरेर जनप्रतिनिधि वा राजनीतिक सामाजिक अगुवाहरुको कर्तव्य पूरा हुँदैन । विभिन्न समयका बाढी तथा पहिरो, कटानको पीडा छल्दै भत्केका भग्नावशेष पन्छाउँदै त्यही ठाउँमा वा अलिक यताउता घरबस्ती बसाईरहेका नागरिकहरुको वास्तविक पीडा बुझिनुपर्छ ।

वस्तीको भौगर्भिक परीक्षण गरी बस्न योग्य नभएकाहरुलाई स्थानान्तरण गर्नुपर्छ । भूकम्पको समयमा चर्केर बसेका तथा विगतमा विभिन्न समयका बाढी पहिरोमा प्रभावित क्षेत्र मानिएका ठाउँहरुरमा बस्ती, बजार तथा सार्वजनिक महत्वका क्षेत्रहरुको निर्माण गर्न रोकिएको भए यो तहको धनजनको क्षति हुने थिएन भन्ने अनुभूत गर्नुपर्छ । अर्को महत्वपूर्ण पक्ष वातावरणमैत्री विकासको अनिवार्यता हो । सडक, पुल, भवन वा अन्य निर्माणका सन्दर्भमा वातावरणीय परीक्षणलाई अनिवार्य गरिनुपर्छ ।

कागजात पुर्याउन सेटिङ्का कम्पनीहरुलाई लेटरप्याड र छाप लिएर आउनुस् चेक लिएर जानुस् भन्ने ढंगले वातावरणीय परीक्षणका प्रतिवेदनहरु बन्ने र सर्वसाधारणको आँखा छल्दै प्राकृतिक दोहन हुन रोकिनुपर्छ । ढुंगाखानी, माटो, प्लटिङ र डोजर आतंकलाई नियन्त्रण, नियमन र भौगर्भिक अनुकुलताको विश्लेषणअनुसार चल्ने वातावरण निर्माण गर्नुपर्छ ।

यस क्षेत्रका स्थानीय तहहरु, राजनीतिक दल तथा सामाजिक अगुवाहरुले यस क्षेत्रको वातावरण तथा विपद रणनीति निर्माण गरेर मात्रै बजार, विकास र बसोवासको रणनीति लिनुपर्छ । अन्यथा विपतका दिनहरु गनिरहनुको विकल्प हुँदैन ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update