Odapalika - The Fourth Estate - चौथो अंग
मेयरको निर्वाचन हुन लागेको कीर्तिपुर नगरपालिकामा कुन दल बलियो ? यस्तो छ २०७९ को अंकगणित

काठमाडौं । स्थानीय तहमा रिक्त पदपूर्तिका लागि हुने उपनिर्वाचनले काठमाडौँको कीर्तिपुर नगरपालिकालाई मेयर दिनेछ । कीर्तिपुरका मेयरसहित ३९ स्थानमा पद रिक्त भएपछि निर्वाचन आयोगले आउँदो मंसिर १६ गते पदपूर्तिका लागि उपनिर्वाचन गर्दै छ । यसका लागि दल दर्तादेखि अधिकृतको कार्यालय रहने स्थानसमेत तोकिएको छ । 

२०७९ सालमा भएको निर्वाचनमार्फत विजयी भएका जनप्रतिनिधिको मृत्युलगायतका कारणबाट ३९ स्थानमा पद रिक्त भएको हो । गएको साउन १० गते कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि शुभलक्ष्मी शाक्य (सुनिता)ले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालिरहेकी छन् । 

हालसम्म मेयर पदका लागि कसैले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । २०७८ को जनगणनाअनुसार ८१ हजार ७८२ जनसंख्या भएको यो नगरपालिकामा ३० हजार ३२८ मतदाता छन् । यस नगरपालिकालाई १० वटा वडामा विभाजन गरिएको छ भने २० वटा मतदान केन्द्र छ । 

यस्तो छ २०७९ को चुनावी अंकगणित 

कीर्तिपुर नगरपालिकाको मेयर, उपमेयरसहित ९ वटा वडाध्यक्षमा  नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार निर्वाचित हुँदा बाँकी सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका हुन् । कांग्रेसका उम्मेदवार निर्वाचित भएको स्थानमा एमालेका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी भएर पछ्याएका थिए । 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिका मेयरमा नेपाली कांग्रेस उम्मेदवार राजकुमार नकर्मी ३५३६ मतान्तरले निर्वाचित भएका थिए । नकर्मीले ९०४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम  प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशवरत्न बज्राचार्यले ५५०७ मत ल्याएका थिए ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार शुभलक्ष्मी शाक्य १६५९ मतान्तरले निर्वाचित भएकी थिइन् । उनले ८८६५ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार बिन्दु महर्जनले ७२०६ मत ल्याएकी थिइन् । 

४ नम्बर वडा छाडेर सबै वडामा अध्यक्षमा नेपाली कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् भने २, ४, ८ र १० नम्बर वडाबाहेक सबै वडामा सदस्यमा कांग्रेसले क्लिनसिप नै गरेको छ । 

वडा १ मा कांग्रेसका हिरालाल महर्जनले ७७८ मत ल्याएर विजयी हुँदा एमालेका हर्ष महर्जनले ५८२ मत ल्याएर पछ्याएका थिए । यसपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाका उम्मेदवारले क्रमशः २७३, ७३ र ३९ मत ल्याएर पछ्याएका थिए । यस वडाका चारवटै वडा सदस्यमा कांग्रेस निर्वाचित भएको छ । यसमा सबै पदमा एमालेले पछ्याएको थियो । 

वडा २ मा कांग्रेसका रुपेश महर्जनले ८८६ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रमेशमान डंगोलले ६९७ मत ल्याएका थिए । चारवटै सदस्यमध्ये तीनवटामा कांग्रेस र एउटामा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । यहाँ कांग्रेसलाई एमाले र एमालेलाई माओवादीका  उम्मेदवारले पछ्याएका थिए । 

वडा नम्बर ३ मा कांग्रेसले क्लिनसिप गर्दा एमालेले नै पछ्याएको थियो । कांग्रेसका सुविन्द्र महर्जन ९८८ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा एमालेका राजेन्द्र महर्जनले ८२२ मत ल्याएका थिए । चारवटै सदस्यमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । उनीहरुलाई एमालेका उम्मेदवारले पछ्याएका थिए । 

वडा नम्बर ४ मा भने स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी वडाध्यक्षमा निर्वाचित भएका थिए । उनलाई कांग्रेसका राजेन्द्र बानियाँले पछ्याएका थिए । अधिकारीले १२८० मत पाउँदा बानियाँँले १०५७ मत ल्याएका थिए । यसमा चार सदस्यमध्ये तीनवटा स्वतन्त्र र एउटामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवारलाई कांग्रेसले झिनो मतान्तरले पछ्याएको थियो ।  

वडा नम्बर ५ पनि कांग्रेसले नै क्लिनसिप गरेको थियो । अध्यक्षमा कांग्रेसका राजेन्द्र महर्जन १३४० मतसहित निर्वाचित हुँदा उनलाई एमालेका सुशील महर्जनले ७३१ मतसहित पछ्याएका थिए । सबै सदस्यमा कांग्रेस निर्वाचित हुँदा एमालेले पछ्याएको थियो । 

वडा नम्बर ६ मा पनि कांग्रेसले क्लिनसिप गरेको थियो । अध्यक्षमा कांग्रेसका खीरमान सिंह बस्नेत १३३३ मतसहित निर्वाचित हुँदा एकीकृत समाजवादीका सुनील डंगोलले ८७० मतसहित पछ्याएका थिए । सबै सदस्यमा कांग्रेस निर्वाचित हुँदा एमालेले पछ्याएको थियो । 

वडा नम्बर ७ मा पनि कांग्रेस नै क्लिनसिप गर्दा एमाले र माओवादी केन्द्रले पछ्याएका थिए । कांग्रेसका दिवाकर शर्मा अधिकारी ६८७ मतसहित अध्यक्षमा निर्वाचित हुँदा एमालेका हरिबहादुर महर्जन ३९२ र माओवादीका रामचन्द्र डंगोलले ४६ मतसहित पछ्याएका थिए । चारवटै सदस्यमा कांग्रेसका उम्मेदवार निर्वाचित हुँदा एमालेका उम्मेदवारले पछ्याए । 

वडा नम्बर ८ मा अध्यक्षसहित तीनवटा सदस्य पदमा कांग्रेस निर्वाचित हुँदा एउटा सदस्यमा एमालेका उम्मेदवार विजयी भएका थिए । अध्यक्षमा कांग्रेस उम्मेदवार सानुमैयाँ ५६५ मतसहित निर्वाचित हुँदा एमालेका राजेश महर्जनले ४५७ मतसहित पछ्याएका थिए । 

वडा नम्बर ९ मा पनि सबै पदमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसका दिनेश श्रेष्ठ १००६ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका सन्जयमान महर्जनले ९३३ मत ल्याए । चारवटै सदस्य पदमा कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए । कांग्रेसका सबै उम्मेदवारलाई एमालेका उम्मेदवारले पछ्याएका थिए । 

वडा नम्बर १० को अध्यक्षसहित तीनवटा सदस्य पदमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । अध्यक्ष पदमा कांग्रेसका नरेश महर्जन ९०१ मतसहित निर्वाचित हुँदा माओवादी केन्द्रकी संगीता श्रेष्ठ उप्रेतीले ८५९ मतसहित पछ्याएकी थिइन् । कांग्रेसका सबै उम्मेदवारलाई माओवादी केन्द्रका उम्मेदवारले पछ्याएका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update