काठमाडौँ । निर्वाचन आयोगले आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारले गर्ने खर्चको अधिकतम सीमा तोकेको छ । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित जनप्रतिनिधिको निधन तथा विभिन्न कारणले रिक्त भएपछि ३९ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
सोही उपनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने समयसीमा आयोगले तोकेको हो । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ र स्थानीय तह निर्वाचन नियमावली २०७३ को ४० बमोजिम उम्मेदवारले मनोनयनपत्र दर्ता भएदेखि परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवार खर्च गर्न पाउने अधिकतम रकमको सीमा निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले सात लाख ५० हजार रुपैयाँ गर्न पाउनेछन् । यसैगरी, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पाँच लाख ५० हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने प्रवक्ता सापकोटाले बताए ।
उनका अनुसार महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तीन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।
जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले भने ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने प्रवक्ता सापकोटाले जानकारी दिए ।