Odapalika - The Fourth Estate - चौथो अंग
उपनिर्वाचन हुन लागेको गौरीशंकर गाउँपालिकामा प्रमुख तीन दलको यस्तो छ अंकगणित

काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएपछि सो पद रिक्त रहँदै आएको छ । हृदयघात भएपछि शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका तामाङको गएको असार ३१ गते निधन भएसँगै गोरीशंकरमा उपाध्यक्ष पद रिक्त रहँदै आएको हो । गौरीशंकरमा जस्तै अन्य २०७९ सालमा भएको निर्वाचनमार्फत निर्वाचित भएका जनप्रतिनिधिको निधन तथा विभिन्न कारण स्थानीय तहमा रिक्त ३९ पदपूर्तिका लागि आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । 

उपनिर्वाचनको कार्यक्रम चलिरहेको छ । निर्वाचन आयोगले दल दर्तादेखि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान पनि तोकिसकेको छ । साथै उम्मेदवारले खर्च गर्न पाउने अधिकतम रकम पनि आयोगले तोकिसकेको छ । 

गौरीशंकरमा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार श्यामसुन्दर तामाङ ४७४१ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार मुना शिवाकोटी केसीले ३२८१ मत ल्याएकी थिइन् । 

गौरीशंकर गाउँपालिका अध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार विश्वास कार्की ४७५१ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार जंगबहादुर गुरुङले ३७५७ मत ल्याएर पछ्याएका थिए । 

आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनमा गौरीशंकर उपाध्यक्षमा कुन राजनीतिक दलका को उम्मेदवार हुन्छन् भन्ने सार्वजनिक भइसकेको छैन । यो गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ भने १२ मतदान केन्द्र छन् । यहाँ १५ हजार ३४१ मतदाता छन् । 

यस्तो छ २०७९ को चुनावी अंकगणित 

गौरीशंकर गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विश्वास कार्की निर्वाचित हुँदा उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ विजयी भएका थिए । ९ वडामध्ये ५ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार अध्यक्षमा निर्वाचित हुँदा ३ वटा वडामा कांग्रेस र १ वटा वडामा एमालेबाट वडाध्यक्षमा निर्वाचित भए । 

वडा नम्बर १ मा माओवादी केन्द्रका प्रकाशबहादुर खड्का ४५६ मतसहित अध्यक्षमा निर्वाचित हुँदा एमालेका रमेश बस्नेतले ३४४ मत ल्याएर पछ्याएका थिए । चारवटै सदस्यमा माओवादी उम्मेदवार निर्वाचित हुँदा एमालेले पछ्यायो । 

वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रकै रोहित बुढाथोकी ५०२ मत ल्याएर विजयी हुँदा एमालेका इन्द्रबहादुर खड्काले ३८८ मत ल्याएर पछ्याएका थिए । चार सदस्यमा तीनवटामा माओवादी र एउटामा एमालेले जितेको थियो । 

वडा नम्बर ३ मा माओवादीकै युगबहादुर बस्नेत ४५४ मत ल्याएर निर्वाचित भए । उनलाई एमालेका जिपछिरिङ शेर्पाले ३२२ मत ल्याएर पछ्याए । चारवटै सदस्यमा माओवादीले जित्यो । 

वडा नम्बर ४ को अध्यक्षमा कांग्रेसका शिवहरि खत्रीले ६०४ मत ल्याएर विजयी भए । उनलाई एमालेका शंखङिम शेर्पाले ४५३ मत ल्याएर पछ्याए । सदस्यमा कांग्रेस र एमालेले दुई दुईवटा जिते । सदस्यमा एमाले र माओवादीले पछ्याए । 

वडा नम्बर ५ को अध्यक्षमा ८२२ मतसहित एमाले उम्मेदवार सुन्दर खड्का निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवार नवराज खड्काले ४७४ मतसहित पछ्याएका थिए । सबै सदस्यमा एमालेले जितेको थियो । सदस्यमा माओवादी र कांग्रेसले पछ्यायो । 

वडा नम्बर ६ मा कांग्रेसका निमासाङ्गे शेर्पा ३०३ मतसहित निर्वाचित हुँदा एमालेका भवन गुरुङले २८४ मतसहित पछ्याएका थिए । चार सदस्यमा कांग्रेस र एमालेले दुई दुई जिते भने पराजित स्थानमा पछ्याए । 

वडा नम्बर ७ को अध्यक्षमा माओवादीकै सोनाम शेर्पा ४५२ मतसहित विजयी हुँदा कांग्रेसका फूरे शेर्पाले ४३१ मत ल्याएर पछ्याएका थिए । चार सदस्यमा तीनमा माओवादी र एउटामा कांग्रेस निर्वाचित हुँदा एक अर्कालाई पछ्याए पनि । 

वडा नम्बर ८ को अध्यक्षमा माओवादीकै दावारेन्जी शेर्पा ४३० मत ल्याएर निर्वाचित भए । उनलाई एमालेका उमेश श्रेष्ठले ३४९ मतसहित पछ्याएका थिए । चार सदस्यमा माओवादी र एमालेले दुई दुई जिते भने एकअर्कालाई पछ्याए पनि । 

वडा नम्बर ९ मा अध्यक्ष पदमा कांग्रेसका ङिमगेली शेर्पा निर्वाचित हुँदा एमालेका पदमबहादुर श्रेष्ठले २९० मतसहित पछ्याएका थिए । चार सदस्यमा कांग्रेस  नै निर्वाचित हुँदा एमालेले पछ्याएको थियो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update