काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ ।
गत असोज दोस्रो साताको बाढीपहिरोका कारण २ जनाको मृत्यु, एक जना बेपत्ता र १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पु¥याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग संकटग्रस्त क्षेत्र घोषणाको माग गरेको हो ।
आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेटेर संकटग्रस्त क्षेत्र घोषणाको माग गरेका हुन् ।
सरकारले असोज अन्तिमसाता काभ्रेका १३ मध्ये धुलिखेल र बनेपा नगरबाहेक ११ स्थानीय तहलाई संकटग्रस्त स्थानीय तह घोषणा गरेको थियो । नगरप्रमुख ब्याञ्जूले धुलिखेलको अवस्था र विपदपछि पुनःनिर्माण एवं पुनर्वासका लागि सरकारले खेल्नुपर्ने भूमिकाका बारे उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई जानकारी गराएको बताए ।
उनका अनुसार ध्यानाकर्षणपत्रमा धुलिखेलको ठकुरीगाउँ, भ्याण्डोल तथा इटोलको फोहोर पानी प्रशोधन केन्समेतको पुनःनिर्माणका लागि ध्यानाकर्षण गराइएको छ ।
नगर प्रमुख ब्याञ्जूले धुलिखेल खानेपानी, काभ्रे एकीकृत खानेपानी, सडक, विद्यालय तथा अन्य संरचनाको क्षतिमासमेत सरकारको सहजीकरणका लागि ध्यानाकर्षण गराइएको बताए ।
गृहमन्त्री लेखकलाई विभिन्न क्षेत्रको पूर्वाधारसहित निजी आवाससमेत गरी करिब एक अर्ब बराबरको भएको प्रारम्भिक तथ्याङ्क विवरण बुझाइएको नगर प्रमुख ब्याञ्जूले बताए ।
नगर कार्यालयका अनुसार बाढीपहिराले धुलिखेल नगरको वडा नं १, २, ३, ४, ८, ९, १०, ११ र १२ मा धेरै क्षति भएको छ भने ८ र ११ नं वडामा दुई नागरिकले ज्यानसमेत गुमाएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले भने कात्तिक पहिलो साताको बैठकले सिङ्गो काभ्रेपलाञ्चोकलाई नै सङ्कटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ । नगर कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार ६४ घर पूर्णरुपमा र ५७२ घर आंशिक क्षति भएका छन् । धिताल खोलाहुँदै बहने सिँचाइमा ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ भने साढे आठ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडक तथा ११० किमी कच्ची सडक पूर्ण क्षति पुगेको कार्यालयले जनाएको छ ।
यस्तै पशुधनमा रु १८ लाख बराबरको पशुधन क्षति भएको, ११ वटा विद्यालयमा ५ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
यसैगरी नगरको आफ्नै फाइबर केबुल पाँच हजार मिटर, टिफिन बक्स, क्यामेरालगायतका विभिन्न उपकरणमा क्षति पुगेको छ । यस्तै एक हजार दुई सय रोपनीको मकै, दुई हजार पाँच सय रोपनीको धान, दुई हजार रोपनीमा लगाएको तरकारी र १५ वटा तरकारी टनेलमा क्षति पुगेको जनाइएको छ । नगरले निजी आवासबाहेक ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ ।
जिल्ला सदरमुकाम धुलिखेलमा रहेका नेपाली सेनाको काली जङ्ग गण, बाल मन्दिर विद्यालय, खेल मैदान, प्रादेशिक ल्याब, जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, सञ्जीवनी स्कुल, होटल तथा अन्य संरचनामा समेत क्षति पुगेको बताएको छ ।
यसैबीच बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनःनिर्माणको लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ । नगरले नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो । करिब तीन दशकअघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्न ३ करोड ५१ लाख लाग्ने अनुमान गरिएको नगरले जनाएको छ ।
भेटका क्रममा राजदूत प्रिन्जले खानेपानी पुनःनिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख ब्यान्जूले बताए ।