Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट राजमार्गमा सिटी सफारी कुदाउन नदिने इटहरी उपमहानगरको निर्णय, ५ हजार व्यवसायी प्रभावित 

सुनसरी । इटहरी उपमहानगरपालिकाले आजबाट नगरक्षेत्रका मुख्य राजमार्गमा ३ पांग्रे इ रिक्सा ( सिटी सफारी) सञ्चालनमा रोक लगाएको छ । 

सफारीका कारण राजमार्ग क्षेत्रमा अध्याधिक दुर्घटना हुने गरेको भन्दै १८ भदौबाट राजमार्ग क्षेत्रमा सिटी सफारी सञ्चालनमा रोक लगाइएको मेयर हेमकर्ण पौडेलले बताए । 

‘आजबाट सिटी सफारीले मुख्य राजमार्गमा यात्रु केरेर बस्न , जथाभावी यात्रु चढाउन र ओराल्न नपाउने नियम लगाएका छौँ, यसले दुर्घटना कम गर्छ भन्ने बिश्वास छ,’ मेयर पौडेलले भने । 

यसअघिका जनप्रतिनिधिले पनि मुख्य राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाएको थियो । तर व्यवसायीको दवावपछि उपमहानगर यो निर्णयबाट एक दिनमै पछि हटेको थियो । 

शुक्रवार सरोकारवालासहितको बैठकले मुख्य राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाउने निर्णयसँगै उपमहानगरमा दर्ता नभएकालाईसमेत सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । 

यो निर्णयप्रति सफारी व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् । कोसी प्रदेशका मुख्य शहरहरुमा सिटी सफारीको चाप थेगिनसक्नु छ । इटहरी क्षेत्रमा मात्र ५ हजार हाराहारीमा यस्ता साधन सडकमा गुड्छन् । जसका कारण ट्राफिक व्यवस्थापनसमेत सकसपूर्ण बनेको प्रहरीको भनाई छ । झापा,  मोरङ र सुनसरीका शहरी क्षेत्रदेखि गाउँगाउँसम्म सवारी साधनको भरपर्दो माध्यम सिटी सफारी छ । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update