काठमाडौँ । व्यक्तिगत सरसापटसँग सम्बन्धित धेरैवटा उखान टुक्काहरु सुन्नुभएकै होला । जस्तो कि– हातले दियो खुट्टालाई दुःख । जसको हातमा पर्यो उही धनी...आदि ।
यी उखान टुक्काहरु अनुभव र अनुभूतिका आधारमा बनेका हुन् । व्यक्तिगत तहमा हुने कारोबारमा इमान्दारितामा समस्या सिर्जना भए दिएको धन नै संकटमा पर्छ भन्ने आशय व्यक्त गर्न यस्ता उखान टुक्काहरु बनेका हुन सक्छन् ।
व्यक्तिगत रुपमा सरसापटी लिएर तपाईंले पनि व्यवहार चलाउनु भएको होला । र, साह्रोगाह्रोमा अरुलाई सरसापट पनि दिनु भएको होला । यसरी हुने कारोबारलाई पनि कानुनी मान्यता दिने कानुन अहिले कार्यान्वयनमा छ ।
२०६३ सालमा सुरक्षित कारोबार ऐन आएको छ । यो ऐनले व्यक्तिहरुबीच कारोबार सुरक्षित गर्ने परिकल्पना गरेको सुरक्षित कारोबार दर्ता कार्यालयका व्यवस्थापक विजय कुँवर बताउँछन् । र, यो ऐनले घरजग्गा बाहेकका सम्पत्ति धितोमा पनि ऋण दिन सकिने व्यवस्था गरेको छ ।
‘बैंक वित्तीय संस्थासँग ऋण लिनको लागि घरजग्गा धितो चाहिन्छ । घरजग्गा धितो नभएका व्यक्तिहरुले त्यसबाहेकका चल सम्पत्ति धितो राखेर पनि ऋण लिन पाउने व्यवस्था सुरक्षित कारोबार ऐन २०६३ ले गरेको छ । यो ऐनको प्रावधान अनुसार व्यक्तिगत रुपमा दिएको ऋण सुरक्षित कारोबार दर्ता कार्यालयमा दर्ता गरेर सुरक्षित गर्न सकिन्छ,’ कार्यालयका व्यवस्थापक कुँवरले वडापालिकासँग भने ।
यस्तो कारोबार कसरी दर्ता गर्ने, दर्ता गराउँदा कति शुल्क लाग्छ ? त्यसका फाइदा के कस्ता छन् ? दर्ता गरेन भने के हुन्छ भन्ने जस्ता विषयमा कार्यालयका व्यवस्थापक कुँवरसँग लामो कुराकानी गरेका छौं । उनीसँगको पडकास्ट वडापालिकाको युटुव च्यानलमा सुन्न सक्नुहुनेछ ।