काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेज फिर्ता ल्याएको छ ।
सो नगरपालिकाको सामाजिक सञ्जाल फेसवुक पेज लामो समयदेखि एकजना भियतनामी महिलाको कब्जामा रहेको समाचार वडापालिका डटकममा प्रकाशित भएपछि नगरपालिकाले पेज फिर्ता ल्याएको हो ।
आफ्नो फेसबुक पेज कसको नियन्त्रणमा छ र के कस्ता सामग्री राखिएको छ भन्ने विषयमा नगरपालिकाका पदाधिकारी र कर्मचारीहरु बेखबर थिए । नगरपालिकाले वेबसाइटमा राखेको फेसबुकको लिंक क्लिक गर्दा त्यहाँ नगरपालिकासँग सम्वन्धि जानकारी भेटिदैनथ्यो ।
सो फेसबुक पेजमा एकजना भियतनामी महिलाको प्रोफाइल खुल्थ्यो, जहाँ महिलासँग सम्बन्धित यौजनन्य सामग्रीहरुको प्रचारप्रसार गरिएको थियो ।
वडापालिकाले भिडियो सहित सो सम्बन्धी समाचार प्रकाशन गरेपछि नगरपालिकाले आफ्नो फेसबुक पेज ह्याक भएको र अहिले फिर्ता ल्याइसकिएको जानकारी दिएको छ । नगरपालिकाका सुचना अधिकारी सुमन पौडेलले फेसबुक पेज फिर्ता ल्याइएको जानकारी दिए ।
‘हाम्रो फेसबुक पेज ह्याक भएको रहेछ । हामीले फिर्ता ल्याउन सक्यौं । अब नगरपालिकासँग सम्बन्धित सामग्री राखिएको छ,’ सुचना अधिकारी पौडेलले वडापालिकासँग भने ।
सम्बन्धित समाचार
दुहवी नगरपालिकालाई ५ वटा मिडिया प्यारो, रामधुनीको फेसबुकमा भियतनामी महिलाको रजगज