चितवन । भरतपुर महानगरपालिकाले फूलमा आत्मनिर्भर रहेको भन्दै स्थानीय उत्पादन प्रयोग गर्न आग्रह गरेको छ । फूलको पर्वको रुपमा चिनिने तिहारमा स्थानीय तहमा उत्पादन भएको फूल र माला प्रयोग गर्न महानगरले आग्रह गरेको हो ।
चितवन फूलमा आत्मनिर्भर भइसकेको अवस्थामा कृषकलाई प्रोत्सहान गर्न महानगरले सो आग्रह पनि गरेको छ ।
तिहारका लागि पर्याप्त हुने गरी सयपत्री तथा मखमली फूल उत्पादन भएको जनाएको फ्लोरिकल्चर एशोसिएसन चितवनले यस वर्ष ४० बिघा क्षेत्रफलमा करिब ३ लाखवटा सयपत्री माला हुने अनुमान गरेको जनाएको छ ।
फूलको मालाको मूल्यमा एकरुपता ल्याउन एशोसियसनले यस पटक प्रतिवटा सयपत्री र मखमलीको मालाको एक सय रुपैया निर्धारण गरेको छ । सयपत्री फूल प्रतिकिलो चारसय देखि ४५० रुपैयाँ कायम गरिएको कृषकले बताएका छन् ।