Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्र बैंकका हाकिमको गाडीले तिहारमा एक जना मोटरसाइकल चालक मार्यो

काठमाडौं । तिहार मनाउन परिवार सहित नेपाल राष्ट्र बैंकको गाडीमा घर हिडेका नेपाल राष्ट्र बैंकका एक जना कार्यकारी निर्देशकको गाडीले उदयपुरमा एक जना मोटरसाइकल चालकलाई ठक्कर दिएर मारिदिएको छ ।

उदयपुरको बेल्टार बजार नजिकै पुलछेउमा प्रदेश १, १०५००१प ८८४९ नम्बरको मोटरसाइललाई ठक्कर दिदा चालक तिलक राईको मृत्यू भएको हो । मोटरसाइकलको पछाडी बस्ने शरण राईको अवस्था पनि गम्भीर रहेको बेल्टार प्रहरीका इन्स्पेक्टर बबिन राईले जानकारी दिए । गम्भीर घाइते भएका राईको उदयपुरमा उपचार हुन नसकेपछि विराटनगर पठाइएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।

घटना कात्तिक १६ गते अपरान्हको हो । काठमाडौंबाट पूर्वतर्फ जादै गरेको बागमती प्रदेश ०२६च५०६२ नम्बरको हुण्डाई क्रेटा गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल भने बेल्टारबाट गाईघाटर्फ जादै गरेको थियो ।

सो गाडीमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र उनको परिवार सवार थियो । गाडी नेपाल राष्ट्र बैंककै नाममा छ । कार्यकारी निर्देशक घिमिरे राष्ट्र बैंकको गाडीमा परिवारै लिएर तिहार विदामा रमाइलो मनाउन हिडेका थिए ।

दुर्घटनाबाट मोटरसाईकल र गाडी दुबैमा गम्भीर क्षति पुगेको इन्स्पेक्टर राईले जानकारी दिए । 

सो स्थानमा सो गाडी कसले चलाएको थियो भन्ने शंकास्पद रहेको स्थानीयले बताएका छन् । घटनाको अवस्था हेर्दा सवारी साधन चलाउन राम्रोसँग नजान्ने व्यक्तिले चलाएको जस्तो देखिएको स्थानीयले बताएका छन् । 

यद्यपि, सो गाडीमा सवारी चालक पनि रहेका थिए । प्रहरीले सवारी चालक बासुदेव सापकोटालाई नियन्त्रणमा लिएको छ । अहिले सवारी चालक र गाडी तथा मोटरसाइकल बेल्टार प्रहरीको नियन्त्रणमा रहेको इन्स्पेक्टर राईले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुलाई सवारी साधन र एक जना चालक सुविधा दिन्छ । चालकको तलब भनेर कार्यकारी निर्देशकहरुले आफैले पैसा लिएर चालकलाई दिने अपारदर्शी व्यवस्था छ भने कार्यकारी निर्देशकहरुले प्रयोग गरेको गाडी अवकास पाउँदा आफ्नो नाममा नामसारी गरेर लान पाउँछन् । गाडी खरिद, बीमा, मर्मतसंभार तथा इन्धन भने राष्ट्र बैंककै खर्चमा हुन्छ ।

कार्यकारी निर्देशक घिमिरे तिहार विदाको समयमा राष्ट्र बैंकले सुविधामा दिएको गाडी लिएर परिवारसहित विदा मनाउन निस्किएका हुन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update