Odapalika - The Fourth Estate - चौथो अंग
रवि लामिछानेलाई म्याद थपका लागि कास्की अदालत लगियो

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छवि जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राईसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।

म्याद थपका विषयमा अदालतमा बहस हुनेछ । बहस सकिएपछि म्याद थप गर्ने वा नगर्ने भन्ने टुंगो लाग्नेछ ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ ।

लामिछानेविरुद्ध रुपन्देहीमा पनि पूरक जोहेरी परेको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई बुटवल लैजाने सम्भावना पनि रहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update