Odapalika - The Fourth Estate - चौथो अंग
तिहारमा लगाएको माला ओइलाएपछि के गर्नुहुन्छ ? फूलप्रसादलाई दिएर धुप लिने कि !

काठमाडौँ । हा है झिलिमिली झिलिमिली– देउसिरे ।

के के झिलिमिली– देउसिरे ।

फूलको झिलिमिली– देउसिरे ।

भर्खरै सकिएको तिहारमा तपाईंकोमा आएको देउसे टोलीले पनि यसरी नै भट्टयायो होला । तिहारमा देउसी–भैलो र फूल छुट्नै नहुने कुरा हुन् । काग तिहारदेखि सुरु हुने यमपञ्चकका पाँचै दिन फूल अनिवार्य हुन्छ ।

तिहारको अन्तिम दिन भाइटिका । सो दिन दिदीबैनीले आफ्ना दाजुभाइलाई टिका लगाइसकेपछि फूलको माला लगाइदिन्छन् । विभिन्न रंग, आकार र जातका फूलको मालाले तिहार मान्नेहरुका गला शोभायमान बनाएको हुन्छ ।

लक्ष्मी पुँजाको दिन घरका ढोका तथा मालसामान सजाउन लगाइएको फूलको माला मात्रै होइन, टिकाको दिन दिदीबैनीले दिएको फूलको माला तपाईंले के गर्नुभयो ? कतै झुन्ड्याइराख्नु भएको छ कि फालिसक्नु भयो ?

झुन्ड्याएर राख्नुभएको छ भने पनि फाल्ने नै हो । ओइलिएको फूल के काम ! ओइलिएको फूलको मालाको के काम ! एक पटक लगाएको माला उत्सवमा लगाउन पनि मिल्दैन । फूलको माला एकचोटीभन्दा प्रयोग नै हुदैन । फूल पनि एक पटकमात्रै प्रयोग गर्न सकिन्छ ।

तर, विकल्प छ । फूलको माला वा फूल फाल्नु पर्दैन । काठमाडौँमा एउटा यस्तो संस्था पनि छ, जसले प्रयोग भइसकेको फूल लगेर दियो भने फूलबाटै बनेको धुप सित्तैमा दिएर पठाउँछ ।

सुषमा शर्मा वस्ती र समुन्द्रराज अर्यालको टिमले फूलबाट धुप बनाउने अभियान सुरु गरेका हुन् । सन् २०१८ मा कम्पनी नै स्थापना गरेर प्रयोग भइसकेको फूलबाट धुप बनाउन थालिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुषमा शर्मा बताउछिन् ।

‘हामी सन् २०१८ देखि नै प्रयोग भइसकेको फूल लिएर धुप दिने काम गरिरहेका छौं । फूलबाट धुप बनाउनको लागि तालिम दिने र फूल खेर जानबाट रोकी फोहोर व्यवस्थापनमा सहयोग गर्ने हाम्रो उदेश्य हो । यसले महिला दिदीबैनीमा उद्यमशीलता विकासमा पनि सहयोग पुर्याउछ,’ प्रमुख कार्यकारी अधिकृत शर्माले वडापालिकासँग भनिन् ।

शर्माको टिमले कम्पनी नै स्थापना गरी यसको सुरुवात गरेको हो । यसका लागि फूलप्रसाद प्रालि नामक कम्पनी नै स्थापना गरिएको छ । सो कम्पनीले देशका विभिन्न स्थानमा गएर फूलबाट धुप बनाउने तालिम दिएर उद्यमशीलता र बजारीकरणमा पनि सहयोग गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update