Odapalika - The Fourth Estate - चौथो अंग
ललिता निवासमा अर्काे काण्डः प्लेट रातो–गाडी सरकारी, होला त जफत ?

काठमाडौँ । नेपाल राष्ट्र बैंक निजी हो वा सरकारी ? देशको केन्द्रीय बैंक निजी हुदैन । यो सरकारी नै हुनुपर्छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर, कर्मचारी र अन्य सरकारी निकायले पनि राष्ट्र बैंकलाई सरकारी नै मान्छन् । राष्ट्र बैंक सरकारी हो कि होइन भनेर शंका गर्ने सुविधा पनि कसैलाई छैन ।

तर, ललिता निवासमा केन्द्रीय कार्यालय रहेको राष्ट्र बैंकमा एउटा अनौठो दृश्य देखिन्छ । त्यो के हो भने नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरहरु र कार्यकारी निर्देशकहरु निजी (रातो) नम्बर प्लेटको सवारी साधन प्रयोग गर्छन् । अनौठो किन भने ती सवारी साधनको धनीपूर्जामा गाडीधनी भनेर नेपाल राष्ट्र बैंक उल्लेख गरिएको हुन्छ । 

घटना कात्तिक १६ गतेको हो । सो दिन काठमाडौंबाट पूर्वतर्फ जादै गरेको बागमती प्रदेश ०२६च५०६२ नम्बरको हुण्डाई क्रेटा गाडीले उदयपुरको बेल्टारमा एउटा मोटरसाइकललाई ठक्कर दियो । सो गाडीको ठक्करबाट मोटरसाइकल चालक तिलक राईको निधन भयो भने मोटरसाइकलको पडाडि बसेका शरण राई गम्भीर घाइते भए ।

मोटरसाइकललाई ठक्कर दिने गाडी निजी (रातो) नम्बरप्लेटको थियो । तर, सवारीधनी भने नेपाल राष्ट्र बैंक रहेको बेल्टार प्रहरीका इन्स्पेक्टर बबिन राईले जानकारी दिए । 

किन मिलेन राष्ट्र बैंकले राखेको नम्बर प्लेट ?

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले निजी, सार्वजनिक, सरकारी, पर्यटक, संस्थान, कुटनीतिक नियोगलगायतलाई बेग्लाबेग्लै रङका नम्बरप्लेट राख्ने भनेको छ । 

ऐनको दफा ९ (१) मा सरकारी सवारी सम्बन्धी व्यवस्था छ । सो दफामा ‘कुनै सरकारी कार्यालयको नाममा दर्ता भई दर्ताको प्रमाणपत्र प्राप्त नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको सवारीलाई सरकारी सवारी भनिने छ’ भनेर उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकको वेबसाइटमा नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो भनिएको छ । 

सो ऐनको दफा ९(२) मा सरकारी सवारीको नम्बरप्लेट सम्बन्धी व्यवस्था छ । ‘सरकारी सवारीको पहिचानको लागि सो सवारीको अगाडि तथा पछाडि अनुसुची–२ को खण्ड (घ) मा लेखिए बमोजिमको नम्बर प्लेट राख्नुपर्छ’ भनिएको छ ।

अब ऐनले उल्लेख गरेको अनुसुची हेरौं । सो अनुसुचीमा सरकारी सवारीमा नम्बर प्लेट राख्दा ‘सेतो प्लेटमा रातो अंक र अक्षरमा हुनुपर्ने’ भनिएको छ ।

सबै गाडीको नम्बरप्लेट रातो

नेपाल राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरुलाई गाडी सुविधा दिएको छ । राष्ट्र बैंकमा अहिले १८ जना कार्यकारी निर्देशक छन् । राष्ट्र बैंकमा कार्यकारी निर्देशक भनेको विशिष्ट श्रेणीको पद हो । यसबाहेक एक जना गभर्नर र २ जना डेपुटी गभर्नरले पनि राष्ट्र बैंकले उपलब्ध गराएको सवारी प्रयोग गर्छन् । यी सबै गाडीको नम्बरप्लेट रातो (निजी) नै छ ।

रातो नम्बर प्लेट कस्को ?

सवारी तथा यातायात व्यवस्था ऐनको दफा ८ मा निजी सवारी सम्बन्धी व्यवस्था छ । निजी प्रयोगको लागि दर्ता प्रमाणपत्र प्राप्त सवारीलाई निजी सवारी भनिने सो दफामा उल्लेख छ । निजी सवारी साधनमा रातो प्लेटमा सेतो अक्षर अंक हुनुपर्ने व्यवस्था छ । तर, इम्बोस्ड नम्बर प्लेट भने सेतो प्लेटमा कालो अंक र अक्षर हुनुपर्छ ।

के भन्छ राष्ट्र बैंक ?

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले राष्ट्र बैंकका सबै सवारी साधनमा रातो नम्बर प्लेट राखिएको जानकारी दिए । 

‘नेपाल राष्ट्र बैंक सरकारी होइन र निजी पनि होइन । स्वायत्त संस्था हो । राष्ट्र बैंकका सबै सवारी साधनमा रातो नम्बर प्लेट राख्ने गरिएको छ । राष्ट्र बैंकको सम्पत्तिमा भने देखाउने गरिएको छ,’ प्रवक्ता पौडेलले वडापालिकासँग भने ।

प्रवक्ता पौडेलले राष्ट्र बैंकले प्रयोग गरिरहेका सबै सवारीको नम्बर प्लेट यातायात व्यवस्था विभागले दिएको बताए । यद्यपि, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ (संशोधनसहित) मा स्वायत्त संस्थाले रातो नम्बर प्लेट प्रयोग गर्ने व्यवस्था कतै गरेको छैन ।

राष्ट्र बैंकका सबै सवारी जफत होलान् ?

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले गरेको व्यवस्था कार्यान्वयन हुने हो भने राष्ट्र बैंकका सबै सवारी साधन जफत हुने अवस्था आउन सक्छ । ऐनको दफा १६० ले त्यस्तै उल्लेख गर्छ ।

‘दर्ताको प्रमाणपत्रमा उल्लेख भए बमाजिमको वास्तविक नम्बर वा प्लेट नराखी अर्कै नम्बर वा प्लेट राखी सवारी चलाउने वा चलाउन लगाउनेलाई अधिकार प्राप्त अधिकारीले ६ महिनासम्म कैद वा ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो सवारी जफत गर्नुपर्छ,’ ऐनको दफा १६० मा उल्लेख छ ।

यो पनि 

राष्ट्र बैंकका हाकिमको गाडीले तिहारमा एक जना मोटरसाइकल चालक मार्यो

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update