Odapalika - The Fourth Estate - चौथो अंग
उपनिर्वाचन हुन लागेको कीर्तिपुर, ग्रामथान र महाबुको कुन दलको हैसियत कस्तो ?

काठमाडौँ । विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

सो उपनिर्वाचनका लागि आउँदो मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले राजनीतिक दल उम्मेदवार चयनमा सक्रिय हुन थालेका छन् । 

२०७९ सालको निर्वाचनमा प्रमुख र उपप्रमुख मतको अवस्था 

आउँदो मंसिर १६ गते काठमाडौँको कीर्तिपुर नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा प्रमुख चयनका लागि निर्वाचन हुँदै छ । 

कीर्तिपुर नगरपालिका

गएको साउन १० गते काठमाडौँ कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि शुभलक्ष्मी शाक्य (सुनिता)ले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालिरहेकी छन् । आउँदो मंसिर १६ गते कीर्तिपुर नगरपालिका प्रमुख चयनका लागि उपनिर्वाचन हुन लागेको छ । 

२०७८ को जनगणनाअनुसार ८१ हजार ७८२ जनसंख्या भएको यो नगरपालिकामा ३० हजार ३२८ मतदाता छन् । यस नगरपालिकालाई १० वटा वडामा विभाजन गरिएको छ भने २० वटा मतदान केन्द्र छ । 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिका मेयरमा नेपाली कांग्रेस उम्मेदवार नकर्मी ३५३६ मतान्तरले निर्वाचित भएका थिए । नकर्मीले ९०४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम  प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशवरत्न बज्राचार्यले ५५०७ मत ल्याएका थिए ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार शुभलक्ष्मी शाक्य १६५९ मतान्तरले निर्वाचित भएकी थिइन् । उनले ८८६५ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार बिन्दु महर्जनले ७२०६ मत ल्याएकी थिइन् ।

कीर्तिपुर नगरपालिकाको मेयर, उपमेयरसहित ९ वटा वडाध्यक्षमा  नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार निर्वाचित हुँदा बाँकी सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका हुन् । कांग्रेसका उम्मेदवार निर्वाचित भएको स्थानमा एमालेका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी भएर पछ्याएका थिए ।

ग्रामथान गाउँपालिका

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको छ । २०७८ को जनगणना अनुसार ग्रामथान गाउँपालिकाको कुल जनसंख्या ३६ हजार २४  छ भने यहाँ ९ हजार ३७७ घरधुरी धन् । 

ग्रामथान गाउँपालिकाका ७ वडा वडामध्ये २०७९ सालको स्थानीय तह निर्वाचनमा ५ वटा वडाका अध्यक्षमा एमालेले जित्दा कांग्रेसले एक र नेकपा माओवादी केन्द्रले १ वडा जितेको थियो । 

गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवारलाई १५१२ मतले पछि पार्दै कांग्रेसले जित्दा वडाको मतमा भने एमाले माथि छ । एमालेले वडाअध्यक्षमा ६८५४ मत ल्याउँदा कांग्रेसले ५५३७ मत ल्याएको थियो । 

एमालेले वडागत मतमा कांग्रेस भन्दा १३१३ मतले अगाडि भए पनि पालिका अध्यक्षमा भने एमालेका उम्मेदवार कांग्रेसका उम्मेदवारसँग १५१२ मतले हारे । 

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ मा ग्रामथान गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार जयप्रकाश गच्छदार थारु ७६०५ मत ल्याई विजयी भएका थिए । 

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शिवनारायण माझी थारुलाई १५१२ मतान्तरले पराजित गरेका थिए । थारुले ६०९३ मत पाएका थिए ।

यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार गुणावतीदेवी थारु ६,१२३ मत सहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार भुखनीकुमारी माँझीले ५४४८ मत  पाएकी थिइन् । 

महाबु गाउँपालिका

दैलेखको महाबु गाउँपालिकामा पनि अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । २०७९ साल माघमै अध्यक्ष लछुमन गुरुङको निधन भएपछि उपनिर्वाचनमार्फत पदपूर्ति गरिन लागेको हो । सो गाउँपालिकामा अहिले उपाध्यक्ष मञ्जुकुमारी शर्माले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेकी छन् ।

२०७८ को जनगणनाअनुसार १८ हजार ५९ जनसंख्या भएको यो गाउँपालिकामा १२ हजार २१७ मतदाता रहेका छन् । यस गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ । 

महाबु गाउँपालिकाका ६ वडा वडामध्ये २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले अध्यक्ष, उपाध्यक्षमा निर्वाचित हुँदै ३ वटा वडामा क्लिनसिप गरेको थियो भने १ वटा वडामा अध्यक्षबाहेक सबै सदस्यमा निर्वाचित भएको थियो । 

माओवादी केन्द्रले २ वटा वडामा अध्यक्षमा निर्वाचित हुँदा एमालेले एउटा वडामा क्लिनसिप गरेको थियो । माओवादीले वडाध्यक्ष जितेको एउटा वडामा कांग्रेसले सदस्यमा क्लिनसिप गर्दा एउटा वडामा माओवादीले एउटा वडा सदस्य र एकीकृत समाजवादीले दुईवटा वडा सदस्यमा जितेको थियो ।  

२०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार लछुमन गुरुङ ४६० मतान्तरले निर्वाचित भएका थिए । गुरुङले २९७९ मत ल्याएर विजयी हुँदा उनका निकटतम  प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरिप्रसाद उपाध्यायले २५१९ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार मञ्जुकुमारी शर्मा ८५४ मतान्तरले निर्वाचित भएकी थिइन् । उनले ३१५५ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार दुर्गाकुमारी सिंहले २३०१ मत ल्याएकी थिइन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update