Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन : महोत्तरीको रामगोपालपुरमा दलहरूको घरदैलो अभियान

काठमाडौँ । आसन्न उपनिर्वाचन केन्द्रित भएर महोत्तरीमा दलहरुको चुनावी सरगर्मी बढाएका छन् । स्थानीय तहमा ४२ रिक्त पदपूर्तिका लागि आउँदो मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको प्रचारप्रसारमा दलहरु जुटेका हुन् । 

आफ्ना उम्मेदवार विजयी वनाउन एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपा संघन कसरतमा छन्  । जिल्लाको रामगोपालपुर नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको दुर्घटनामा परेर निधन भएपछी सो पदपूर्तिका लागि यस वडामा उपनिर्वाचन हुन लागेको हो । सोही उपनिर्वाचन लक्षित दलहरु चुनावी गतिविधिमा सक्रिय बनेका हुन् ।

मृतक वडा अध्यक्ष मुकेश माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । माओवादीले उनको मृत्यु सडक दुर्घटनामा नभई हत्या भएको दाबी गर्दै आएको छ । उनै मृतक मुकेशकी श्रीमती आइती देवी यादवलाई वडाध्यक्षको उम्मेदवार बनाएर माओवादीले चुनावी कार्यक्रम गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र जसपाले पनि उम्मेदवार टुंग्याएर घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

एमाले र कांग्रेसको केन्द्र र प्रदेशमा गठबन्धनको सरकार भए पनि यहाँ भने चुनावी गठबन्धन गरेका छैनन् ।  नेकपा एमालेले सकिवुल खाँ, नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँलाई र जसपाले नाजामुद्दीन खानलाई उम्मेदवार बनाएका छन् ।

कुल २१३७ मतदाता रहेको यो वडामा २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रका मृतक वडा अध्यक्ष मुकेश यादवले अहिले कांग्रेसले उम्मेदवार बनाएको मोहम्मद जनिफ खाँलाई पराजित गर्दै विजयी भएका थिए ।

एमाले र कांग्रेसले पुराना नै उम्मेदवार र जसपाले नयाँ अनुहारलाई चुनावी मैदानमा होमेको छ भने अन्य दल लोसपा, जनमत जस्ता दलहरुले उम्मेदवार टुंग्याउने वा कुनै दललाई सहयोग गर्ने विषयमा निर्णयमा पुग्न सकेका छैनन् । तर, एमालेले उम्मेदवार बनाएका सकिवुल खाँ अघिल्लो निर्वाचनमा जसपावाट उम्मेदवार बनेका थिए ।

465223291_122119196162568702_3157062333551624003_n-1730884311.jpg
 

उनी मतको आधारमा तेस्रो स्थानमा थिए भने एमालेले उम्मेदवार बनाएको कादिर हुसेन चौथो स्थानमा थिए ।संगठनिक मतका हिसावले माओवादी केन्द्र अझै दरिलो देखिए पनि लोसपा, जनमतलगायत दलले उम्मेदवारको विषयमा टुंगो नलगाउँदा परिणामको आकलनका विषयमा आ–आफ्नै विश्लेषण सुरु भएको छ ।

अघिल्लो निर्वाचनमा मुकेश यादवका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत ल्याएका थिए भने यादव ४३३ मत ल्याएर विजयी वनेका थिए । त्यसपछि जसपाका उम्मेदवार सकिवुल खाँले ३४२ मत, नेकपा एमालेका उम्मेदवार कादिर हुसैनले २८७ मत, लोसपाका मोहम्मद अहमद रेजा खाँले २२ मत र जनमतका उम्मेदवार अशोक कुमार यादवले १७ मत ल्याएका थिए ।

यसअघिको निर्वाचनमा माओवादी केन्द्र, नेकपा एमाले, कांग्रेस, जसपा, लोसपा र जनमत पार्टीहरु आफ्ना उम्मेदवारसहित चुनावी मैदानमा होमिए पनि यो निर्वाचनमा लोसपाले उम्मेदवार वनाएर प्रतिस्पर्धामा होमिने वा कसैलाई सहयोग गर्ने भन्ने विषयमा कुनै निर्णयमा पुग्न सकेका छैनन् । लोसपाका केन्द्रीय सदस्य पिताम्बर महतोले उपनिर्वाचनको विषयमा छलफल भइरहेको वताए ।

यो वडा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य सरोज यादवको भएको हुनाले पनि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन निकै कसरत गरिरहेको स्थानीयहरू बताउँछन् ।  

माओवादी केन्द्रका उम्मेदवार यादव जिताउन माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल आफैँ घरदैलोमा हिँडेका छन् भने सरोज यादव पनि आफ्नो पार्टी  एमालेका उम्मेदवार जिताउन सक्रिय भएका छन् । 

महोत्तरीभर ३ लाख ३६ हजार ९५ जना मतदाता रहेका छन् जसमध्ये १ लाख ५४ हजार ७८७ महिला मतदाता, १ लाख ८१ हजार ३०७ पुरुष मतदाता र १ जना अन्य मतदाता रहेका छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update