Odapalika - The Fourth Estate - चौथो अंग
यातायात व्यवस्था विभागलाई प्रश्न– राष्ट्र बैंकको गाडीमा किन रातो नम्बर प्लेट ?

काठमाडौँ । देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका सबै सवारी साधनमा किन रातो नम्बर प्लेट राखियो भन्ने प्रश्न चौतर्फि रुपमा उठ्न थालेको छ ।

राष्ट्र बैंकले किनेका सबै सवारी साधानमा निजी गाडीमा प्रयोग हुने रातो नम्बर प्लेट किन राखिन्छ भन्ने विषयमा राष्ट्र बैंककै अधिकारीहरुले पनि स्पष्ट जवाफ दिन सकेका छैनन् । नेपाल राष्ट्र बैंक सरकारी वा निजी संस्था नभएर स्वायत्त संस्था भएकोले रातो नम्बर प्लेट राखिएको प्रवक्ता रामु पौडेल बताउँछन् ।

तर, स्वायत्त संस्थाले निजी सवारीमा जस्तै गरी रातो नम्बर प्लेट राख्ने व्यवस्था वा आधार के हो भन्ने विषयमा भने राष्ट्र बैंक मौन छ । पहिलादेखि नै रातो नम्बर प्लेट राख्ने गरिएकोले त्यसको निरन्तरता भएको दाबी राष्ट्र बैंकको छ ।

सवारी तथा यातायात व्यवस्था ऐनमा कस्तो गाडीमा कस्तो नम्बर प्लेट राख्ने भन्ने सन्दर्भमा स्पष्ट व्यवस्था छ । सो ऐनको दफा ९ मा सरकारी सवारीमा सेतो प्लेटमा रातो अक्षर र अंकमा नम्बर प्लेट राख्नुपर्ने भन्ने छ । नेपाल राष्ट्र बैंकका अधिकारीहरुले दाबी गरे जस्तो राष्ट्र बैंक कुनै तेस्रो ग्रहबाट आएको संस्था वा निकाय होइन । राष्ट्र बैंकको सम्पत्ती सरकारी सम्पत्ती हो ।

राष्ट्र बैंकले किनेका गाडी राष्ट्र बैंकको सम्पत्ती हो । राष्ट्र बैंकको सम्पत्ती सरकारी सम्पत्ती हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सरकारी गाडीमा रातो नम्बर प्लेट राख्न नमिल्नु पर्ने हो । तर, राष्ट्र बैंकका गाडीमा रातो नम्बर प्लेट छ ।

नम्बर प्लेटको व्यवस्था गर्ने निकाय यातायात व्यवस्था विभागलाई हामीले राष्ट्र बैंकको गाडीमा किन रातो नम्बर प्लेट दिनुभएको भनेर सोधेका थियौं । विभागका महानिर्देशक राजिव पोखरेलले पहिलादेखि नै रातो नम्बर प्लेट राख्ने चलन चलेकोले यस्तो भएको बताए ।

यद्यपि, उनले सबै सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्नै पर्ने र त्यस्तो प्लेट सरकारी नै हुने पनि जानकारी दिए ।

‘पहिलादेखि नै रातो नम्बर प्लेट राख्ने चलन रहेछ । किन यस्तो गर्ने गरियो भन्ने कानुन र आधार हामीले पनि भेटेका छैनौं । इम्बोस्ड नम्बर प्लेट राख्दा अनिवार्य रुपमा सरकारी नै राखिन्छ । रातो नम्बर प्लेट भएका सरकारी गाडीमा सरकारी गाडीकै नम्बर प्लेट राख्नुपर्ने भनेर हामीले विभिन्न फोरमहरुमा भन्दै आएका पनि हौं,’ महानिर्देशक पोखरेलले वडापालिकासँग भने ।

नियामकलाई सरकारी कानुन लाग्दैन ?

नेपाल राष्ट्र बैंकले सरकारको निर्देशनको पनि अवज्ञा गरेको पाइएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले २०७९ फागुनभित्रमा सबै सरकारी सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न भने पनि राष्ट्र बैंकले आफू सरकारी नभइ स्वायत्त संस्था भएको भन्दै सरकारको निर्णय कार्यान्वयन गरेको छैन ।

मन्त्रालयले २०७९ मंसिर १ गते सबै सरकारी कार्यालयहरुलाई पत्र लेखी सरकारी सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट राख्न भनेको थियो । तर, मन्त्रालयको यस्तो पत्रपछि पनि सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट नराखेपछि मन्त्रालयले २०७९ मंसिर २८ गते अर्काे पत्र पठाउँदै २०७९ फागुन मसान्तभित्रमा इम्बोस्ड नम्बर प्लेट राख्न समयसिमा दिएको थियो ।

मन्त्रालयले सो समयसीमा दिए पनि नेपाल राष्ट्र बैंकले आफ्ना गाडीको नम्बर प्लेट परिवर्तन गरेन । नयाँ गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य भनिए पनि सो नियम राष्ट्र बैंकलाई लागेन । राष्ट्र बैंक अहिले पनि रातो नम्बर प्लेट राखेर गाडी दर्ता गराइरहेको छ ।

रातो नम्बर प्लेट राख्दाका फाइदा 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सरकारी सवारी साधानमा सेतो नम्बर प्लेट र सार्वजनिक संस्थानका गाडीमा पहेलो नम्बर प्लेट राख्ने भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार सडकमा गुडेका गाडी सरकारी हो सार्वजनिक संस्थानको भन्ने सहजै चिन्न सकिन्छ ।

यही पहिचान छल्न सरकारी गाडीमा रातो नम्बर प्लेट राख्ने गरेको पाइन्छ । सेतो र पहेलो नम्बर प्लेट राख्ने हो भने सार्वजनिक विदाको दिन त्यस्ता गाडी प्रयोग गर्न अनुमति चाहिन्छ भने त्यस्तो गाडी लिएर जहाँ पनि जान अप्ठेरो हुन्छ ।

‘सरकारी गाडी छ, नम्बर प्लेट रातो छ भने त चैन भयो नि ! त्यही गाडी लिएर माइत मावल गएपनि भयो, पिकनिक गएपनि भयो, जन्त मलामी गएपनि भयो, जहाँ गएपनि भयो । खासमा भन्ने हो भने सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर चलाउनु भनेको राज्यको सम्पत्तिको दुरुपयोग नै हो,’ यातायात व्यवस्था विभागका एक अधिकारीले भने ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे गत असोज १६ गते नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहेको रातो नम्बर प्लेटको गाडी लिएर तिहार मनाउन परिवारसहित झापा जादै थिए । सो गाडीले उदयपुरको बेल्टार बजार नजिकै एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । सो ठक्करबाट मोटरसाइकल चालक तिलक राईको मृत्यु भइसकेको छ भने मोटरसाइकलको पछाडि बसेका शरण राई गम्भीर घाइते भएर अहिले उपचाररत छन् । घिमिरे परिवार राष्ट्र बैंकको गाडी लिएर झापा गएको दिन तिहारको सार्वजनिक विदा परेको थियो ।

यो पनि 

ललिता निवासमा अर्काे काण्डः प्लेट रातो–गाडी सरकारी, होला त जफत ?

राष्ट्र बैंकका हाकिमको गाडीले तिहारमा एक जना मोटरसाइकल चालक मार्यो

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update