Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचनः कांग्रेस–एमाले र माओवादी–नेकपा एसबीच तालमेलको गृहकार्य !

काठमाडौँ । आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेले कतिपय स्थानमा तालमेल गर्ने तयारी थालेका छन् । 

प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच पनि तालमेलको गृहकार्य जारी रहेको नेताहरुले बताएका छन् । 

नगरपालिका, गाउँपालिकाका मेयर, अध्यक्ष र उपाध्यक्ष र मेयरसहित विभिन्न वडाका वडाअध्यक्षहरु गरी ४४ रिक्त स्थानमा १६ मंसिरमा निर्वाचन हुँदैछ । 

यो निर्वाचनमा सत्तारुढ कांंग्रेस र एमालेले विगतमा आफुले जितेका स्थानमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने रणनीति बनाएका छन् भने माओवादी र अन्य दलले जितेका पालिकामा भने सहकार्य गरेर जाने सहमति गरेको नेताहरुले बताएका छन् । 

यही रणनीति अनुसार रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ का वडाअध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । 

यो पालिकामा २०७९ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा कांग्रेसले जितेको थियो । 

यसपटक भने उपाध्यक्षमा एमालेका उम्मेदवारलाई सघाउने र वडाअध्यक्षमा कांग्रेसका उम्मेदवारलाई सघाउने गरी स्थानीय पार्टी कमिटीबीच लगभग सहमति जुटेको नेताहरुले बताएका छन् । 

यही रणनीति अनुसार एमालले उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । 

उता सत्ता बाहिरका दल माओवादी र नेकपा एसबीच पनि तालमेलको गृहकार्य भइरहेको छ । 

नेकपा एसका नेताहरुले मधेश प्रदेशमा बाहेक अन्य प्रदेशमा तालमेलका लागि ढोका खुला गरिएको बताएका छन् । 

यी दुई दलले कांग्रेस र एमालेका उम्मेदवार एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका स्थानमा तालमेल गरेर उम्मेदवारी दिने तयारी गरे पनि अन्तिम सहमति हुन भने बाँकी छ । 

कांग्रेसले उपनिर्वाचनका लागि १० जना नेतालाइृ फिल्डमा खटाइसकेको छभने नेकपा एस र एमालेले भने स्थानीय तह हेर्ने विभागका नेताबाहेकलाई निर्वाचन परिचालनका लागि अहिलेसम्म खटाइसकेको छैन । 

२ मंंसिरमा उम्मेदवारी दर्ता कार्यक्रम छ । सो अगावै नेताहरुले निर्वाचन कमाण्डको जिम्मेवारी पाउने एमालेका नेताहरु बताउँछन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपनिर्वाचन हुने ४४ वटै स्थानमा उम्मेदवारी दिने गरी तयारी गरिरहेको र कुनै दलसँग पनि तालमेल नगर्ने रास्वपाका नेताहरुले बताएका छन् । 

यो उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update