Odapalika - The Fourth Estate - चौथो अंग
दलहरू स्थानीय तह उपनिर्वाचनमा केन्द्रित, कुन दलको कस्तो रणनीति ?

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु रणनीति बनाउन सक्रिय भएका छन् । स्थानीय तहमा रिक्त ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । 

जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि निर्वाचन हुने लागेको हो । 

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं (, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । 

काठमाडौँ महानगरपालिका, कीर्तिपुर नगरपालिका, ककनी गाउँपालिका, हेटौँडा उपमहानगरपालिको गोरखा नगरपालिका, मुसिकोट नगरपालिकालगायत विभिन्न स्थानीय तहमा ३४ वटा वडाको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । 

रिक्त ४४ पदका लागि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । जसअनुसार दलहरु उम्मेदवार चयनदेखि रणनीति बनाउन सक्रिय भएका छन् । 

कुन दलको कस्तो रणनीति ?

आसन्न स्थानीय तहको उपनिर्वाचनलाई समेत लक्षित गरेर केन्द्रीय सत्ता साझेदार दल कांग्रेस र एमालेले संयन्त्र नै बनाएका  छन् । दुवै दलका पदाधिकारी संलग्न रहेको केन्द्रीय संयन्त्रले  प्रदेश र स्थानीय तहसम्म विस्तार गरेर सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउने र आफ्नो उम्मेदवारलाई निर्वाचित गराउन भूमिका खेल्नेछन् । 

यद्यपि, सो निर्वाचनका लागि कांग्रेस र एमालेले छुट्टाछुट्टै रणनीति बनाइरहेका पनि छ । कांग्रेसले १० कमान्डर नै तोकेर उपनिर्वाचनमा सक्रिय हुने रणनीति बनाइसकेको छ । जसअनुसार कोशी प्रदेशमा भीष्मराज आङ्दम्बे, मधेश प्रदेशमा महेन्द्र यादव, बागमती प्रदेशमा महालक्ष्मी उपाध्याय ‘डिना’,  कर्णाली प्रदेश एवं गण्डकी प्रदेशमा जीवन परियार, सुदूरपश्चिम प्रदेशमा एनपी साउद, लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वयमा पुष्पा भुसाल, अन्तरपार्टी समन्वयमा डा. प्रकाशशरण महत, प्रचारप्रसार संयोजनमा मीन विश्वकर्मा, स्थानीय तह समन्वयमा  मधु आचार्य र सचिवालय व्यवस्थापनमा नानु बाँस्तोलालाई कमान्डर तोकिएको छ । 

कांग्रेसले कमान्डर नै तोकेर रणनीतिसहित चुनावी मैदानमा उत्रिँदा संघीय सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आवश्यक रणनीति बनाउन पार्टीको बैठक बोलाएको छ । एमालेले शनिबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएको छ । 

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले स्थानीय आवश्यकताका आधारमा चुनावी गठबन्धन हुनसक्ने भन्दै चुनावी तालमेलका लागि मार्ग खुलाएको छ । सो पार्टी पनि थप रणनीति बनाउन आन्तरिक छलफल र अन्य दलको निर्णयलाई पर्खेर बसेको छ । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सात कमान्डर तोकेर स्थानीय तहको निर्वाचनमा होमिसकेको छ । रास्वपाले कोशी प्रदेशमा निशा डाँगी, मधेश प्रदेशमा डा.चन्दा कार्की, बागमती प्रदेशमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनी प्रदेशमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदरपश्चिममा विष्णुकुमार श्रेष्ठले चुनावी कमान्डरको जिम्मेवारी दिएको छ । 

साथै, स्थानीय तहको उपनिर्वाचनसहितका विषयमा थप रणनीति बनाउन रास्वपाले शनिबार बिहान ११ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक पनि बोलाएको छ । 

राप्रपाले पनि स्थानीय तहको उपनिर्वाचनको परिणाम आफ्नो उम्मेदवारको पक्षमा पार्न २२ कमान्डर तोकिसकेको छ भने थप रणनीति पनि बनाइरहेको छ । 

यता, स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउन सम्बन्धित् प्रदेश कमिटीलाई निर्देशन दिएको एकीकृत समाजवादीले चुनावी गठबन्धनको बाटो पनि खुला राखेको छ । सरकारमा सहभागी कांग्रेस र एमालेबाहेक प्रतिपक्षी दलसँग चुनावी तालमेल गर्न एकीकृत समाजवादीले विकल्प खुला राखेको हो। एकीकृत समाजवादीले उपनिर्वाचनको थप रणनीति बनाउन पदाधिकारीसहितका नेतासँग औपचारिक तथा अनौपचारिक छलफलमा जुटेको छ । 

मंसिर १६ गते हुने उपनिर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्पवा, राप्रपा, एकीकृत समाजवादीसहित २५ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update