Odapalika - The Fourth Estate - चौथो अंग
वातानुकुलित घर निर्माणमा स्थानीयलाई ललितपुर महानगर प्रेरित गर्ने

काठमाडौं । ललितपुरकाे ललितपुर महानगरले जाडोमा न्यानाे र गर्मीमा शीतल हुने घर निर्माण गर्न स्थानीयलाई प्रेरित गर्दै काम थाल्ने भएको छ ।

स्वीच एसिया लगायतका संघसंस्थासँग सहकार्य गरी ललितपुर महानगरले ऊर्जा प्रभावकारी घर निर्माणसम्बन्धी बैठकमा महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरका लागि बिल्डिङ इनर्जी इफिसिएन्सी (बीईईएन) परियोजना महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘बीईईएनको बैठकले कार्यदिशा निर्धारण गरी हुने टेक्निकल पेपर तयार पारोस्, हामी त्यो पेपरलाई विधिपूर्वक कार्यान्वयन गर्ने छौं ।’  

पुसमा हुने नगरसभाले ऊर्जामैत्री भवन निर्माणसम्बन्धी कानून पास गर्ने प्रतिबद्धता व्यक्त गरे । महानगरका नगरबासीले सम्पदालाई प्राथमिकता दिएर घर निर्माण गर्न चाहे उनीहरुका लागि कस्तो सहुलित दिने त्यस सम्बन्धमा समेत छलफल गरेर निर्णय गर्ने उनको भनाई थियो । उनले भने,‘ नक्सापासमा ५० प्रतिशत छुट दिने कि वा १०० प्रतिशत नै दिने वा त्यो भन्दा थप कसरी गर्ने विषयमा छलफल गर्छौ । ’

ऊर्जा प्रभावकारी घरलाई जाडोमा तातो बनाउन र गर्मीमा चिसो बनाउन कुलर प्रयोग गर्नुपर्दैन । यसले गर्दा घरमा हुने खर्च समेत कम हुन्छ । घर बनाउँदा प्रयोग हुने इँटा झ्याल, ढोको आकार, झ्याल ढोका राखिएको ठाउँले घर जाडोमा न्यानो र गर्मीमा शीलत हुने कुरा निर्धारण हुने विज्ञहरुले बताएका छन् । 

ऊर्जा प्रभावकारी घर निर्माणका लागि प्रोत्साहन गर्न जनचेतना आवश्यक भएको कार्यक्रमका सहभागीहरुको भनाई थियो । उनीहरुले ऊर्जा प्रभावकारी भवन निर्माणका लागि तालिम आवश्यक भएको बताए । 

शहरी विकास योजना महाशाखाका प्रमुख श्रीकुमार महर्जनले आफूसँग भएको स्रोत साधन प्रयोग गरी निर्माण गरिने उर्जा प्रभावकारी घर निर्माण गर्न जनचेतना आवश्यक भएको बताए । यस्तो घर निर्माण गर्न चाहनेलाई  महानगरले गर्न सक्ने सहयोग र दिनुपर्ने सहुलियतका बारेमा छलफल गरिने बताए । 

आर्थिक विकास समितिका संयोजक तथा वडा नंं.२१का अध्यक्ष रविन्द्र महर्जनले नयाँ विषयलाई प्राथमिकता दिँदा ललितपुरका बस्तीहरुको मौलिकता र पहिचानमा आँच पर्‍याउन नहुने बताए । सम्पदामा क्षेत्रमा रहेका व्यक्तिगत घरहरु पनि मन्दिरहरु सरहकै सम्पदा हुने धारणा राख्दै ती घरहरुको पनि ऐतिहासिक मौलिकता संरक्षण गर्नुपर्ने प्रष्ट पारे । 

यो परियोजना अन्तर्गत नेपालभरका ६० वटा स्थानीय तहमा उर्जा प्रभावकारी घर निर्माणका लागि सम्झौता भएको छ । यसैल १४ वटा स्थानीय तहले नियमावली तयार पारेको कार्यक्रममा जानकारी दिइएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update