
काठमाडौँ । आज ताप्लेजुङ जिल्लाको फुलपिङ नगरपालिका क्षेत्रमा पर्ने पाथिभरा केबलकार शिलान्यास गर्ने तयारी नगरपालिकाका मेयर अमिर मादेन र निर्माण कम्पनीको थियो । शिलान्यास गर्नकै लागि मेयर मादेन तथा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहम्फेसहितको टोली कार्यक्रम स्थल पुगेको थियो ।
दिउसो करिब १ बजेतिर स्टेसन सम्याउन स्काभेटरसहित शिलान्यास टोली कार्यक्रम ल पुगेको थियो । तर, अप्रिय घटना हुन सक्ने भन्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्काभेटरको चाबी खोसेका थिए । प्रमुख जिल्ला अधिकारी शर्माको सोही कार्यका कारण कार्यक्रम विथोल्न खोज्नेहरुको मनोबल बढेको मेयर अमिर मादेनले दाबी गरे ।
‘कार्यक्रम विथोल्ने भन्ने हल्ला थियो । १५–२० जना मान्छेहरु कार्यक्रम विथोल्न बसेका पनि थिए । ती मान्छेलाई नियन्त्रणमा लिएर विकासलाई अघि बढाउनु पर्छ भनेर मैले सिडियो साप (प्रमुख जिल्ला अधिकारी शर्मा) लाई अनुरोध गरेको पनि थिएँ । तर, उहाँले जमिन सम्याउन गएको स्काभेटरको चावी नै खोसेर कार्यक्रम विथोल्न खोज्नेहरुलाई बल पुग्ने कार्य गरिदिनु भयो,’ मेयर मादेनले वडापालिकासँग भने ।
यद्यपि, प्रमुख जिल्ला अधिकारी शर्मा सो जिल्ला गएको पनि करिब एक साता मात्रै भएको छ । सो स्थानमा केबलकार निर्माण गर्नुपर्न भन्ने र गर्न हुँदैन भन्ने पक्षबीच विवाद उत्पन्न भएकै कारण पछिल्ला केही वर्षदेखि कुनै पनि प्रमुुख जिल्ला अधिकारी ५ महिनाभन्दा लामो समय टिक्क सकेका छैनन् ।
सो केबलकार निर्माणस्थल ऐतिहासिक रुपमा नै लिम्बुहरुको पवित्रस्थल हो र होइन भन्ने विवाद छ । नगरपालिका र निर्माण कम्पनी सो क्षेत्र लिम्बुहरुको पवित्र स्थल नभएको दाबी गरिरहेका छन् भने पवित्रस्थल हो भन्ने दाबी गर्नेहरु सो स्थानमा केबलकार बनाएर आफूहरुको धार्मिक आस्थामा चोट पुर्याउन लागिएको दाबी गरिरहेका छन् ।
‘स्थान ऐतिहासिक रुपमा लिम्बुहरुको पवित्र धार्मिक स्थल होइन । म पनि लिम्बु नै हो । डाडाकाडा र बन जंगललाई त्यसै छोड्ने हो भने विकास कसरी हुन्छ ? त्यहाँ केबलकार बनाउनै पर्छ,’ मेयर मादेनले भने ।
सो स्थानमा केबलकार निर्माणका लागि शिलान्यास गर्ने र गर्न नदिने विवादमा झडप हुँदा करिब ६ जना घाइते भएको र ती घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेर अन्यत्र रिफर गरिएको सुनेको मेयर मादेनले बताए ।