Odapalika - The Fourth Estate - चौथो अंग
सर्केगाड गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट बुढा, उम्मेदवार खोज्दै गाउँगाउँमा एमाले

सर्केगाड गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट बुढा, उम्मेदवार खोज्दै गाउँगाउँमा एमाले

काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका तर्फबाट रविता बुढाले प्रतिस्पर्धा गर्ने भएकी छन् । 

आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

सर्केगाड गाउँपालिका–८ राहदेवकी बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उम्मेदवार चयन गरेको सो पार्टीका जिल्ला उपसभापति वसन्त रोकायाले जानकारी दिए ।२०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि उनी कांग्रेसबाट आकाङ्क्षी थिइन् । 

एमाले र नेकपा माओवादी केन्द्र)ले भने हालसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । एमाले सर्केगाड गाउँपालिकाका ८ वटै वडामा विभिन्न नेताको नेतृत्वमा टोली परिचालन गरी उम्मेदवार छान्न घरदैलोमा व्यस्त छ । चार समूह बनाएर घरदैलो अभियान गरिरहेको एमाले जिल्ला सचिव तीर्थराज बोहराले बताए । 

माओवादी केन्द्र पनि उम्मेदवार चयनका लागि सर्केगाडमा केन्द्रित भएको सो पार्टीका जिल्ला सचिव धर्मराज बोहराले बताए । यसअघिकोे स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा सर्केगाडको अध्यक्षमा ठानबहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्की निर्वाचित भएका थिए ।

सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा उपाध्यक्ष कार्कीको दुर्घटनामा परी निधन भएपछि रिक्त उक्त पदका लागि सर्केगाडमा उपनिर्वाचन हुन लागेको हो ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update