काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षले दक्षिणपूर्वी ललितपुर गोटीखेल बजारमा करिब ६ अर्बको संरचनामा क्षति पुर्याएको छ ।
महांकाल गाउँपालिकाका अनुसार सार्वजनिक र निजी संरचनामा गरी ६ अर्ब बराबरको क्षति भएको छ ।
सो बजार क्षेत्रमा रहेको खुवा कम्पनी, वैतर्णी मन्दिर, १०८ शिवलिङ्ग, हवन कुण्ड, पक्की भवन, संस्कृत पढाउने उद्देश्यले निर्माणाधीन पक्की भवनमा जस्ता संरचनामा पूर्ण क्षति भएको छ ।
यस्तै, निजी घर तथा भवनहरु पनि पूर्ण क्षति भएका छन् ।
बढी र पहिरोले २०५३ सालदेखि विद्युत् उत्पादन गरिरहेको लघु जलविद्युत गृहमा पनि क्षति पुगेको छ । यस्तै, बजार क्षेत्रमा रहेको प्रहरीका दुईवटा आवासीय टहरा बाढीले बगाएको छ । पालिका अध्यक्ष गणेशबहादुर केसीका अनुसार बजार क्षेत्रमा रहेको हिलसाइड माध्यमिक विद्यालयको भवनमा पनि क्षति पुगेको छ ।
खानेपानीका अधिकांश ट्याङ्की र पाइप नष्ट भएका गाउँपालिकाले जानकारी दिएको छ । खानेपानीमा समस्या हुँदा सो क्षेत्रका दुई हजार तीन सय घरमध्ये ७५ प्रतिशतलाई खानेपानीको व्यवस्था गर्न समस्या भएको छ ।
विपदमा परेका स्थानीयको लागि प्रदेश र संघीय सरकारले रकम उपलब्ध गराएका छन् । प्रदेश सरकारले २० लाख रुपैयाँ र संघीय सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको गाउँपालिकाले जानकारी दिएको छ ।