Odapalika - The Fourth Estate - चौथो अंग
मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । विराटनगरस्थित आफ्नै निवासमा उनी पक्राउ परेका हुन् । उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका तत्कालीन मन्त्री अधिकारीलाई जापानको अध्यागमनले विमानस्थलबाट नेपाल फर्काइदिएको थियो ।

उनीसँगै गएका अन्य तीनजनालाई पनि जापानले नेपाल फर्काइदिएको थियो । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै मन्त्रीबाहेक अन्य तीनजनालाई प्रहरीले नियन्त्रणमा लियो । 

यो घटनाबाहिर आएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिए भने उनलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने आवाज बुलन्द भइरहेका बेला आइतबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका अधिकारीलाई काठमाडौँ ल्याएर अनुसन्धान गरिने भएको छ । 

एमालेको कोशी प्रदेश कमिटीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट अधिकारीलाई निलम्बन गर्ने निर्णयलाई शनिबारको एमाले केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update