Odapalika - The Fourth Estate - चौथो अंग
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ । 

विराटनगरस्थित आफ्नै निवासमा आइतबार पक्राउ परेका कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री अधिकारीलाई हवाइ जहाजमार्फत प्रहरीले काठमाडौं ल्याएको हो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिनेछ । 

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका तत्कालीन मन्त्री अधिकारीलाई जापानको अध्यागमनले विमानस्थलबाट नेपाल फर्काइदिएको थियो ।

उनीसँगै गएका अन्य तीनजनालाई पनि जापानले नेपाल फर्काइदिएको थियो । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै मन्त्रीबाहेक अन्य तीनजनालाई प्रहरीले नियन्त्रणमा लियो । 

यो घटना बाहिर आएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिए भने उनलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने आवाज बुलन्द भइरहेका बेला आइतबार प्रहरीले पक्राउ गरेको हो । 

एमालेको कोशी प्रदेश कमिटीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट अधिकारीलाई निलम्बन गर्ने निर्णयलाई शनिबारको एमाले केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो । यसको भोलिपल्ट उनी पक्राउ परेका हुन् । 

यसैबीच, काठमाडौँ ल्याएसँगै उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अधिकारीलाई दुई दिन हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update