Odapalika - The Fourth Estate - चौथो अंग
हनुमाननगर कंकालिनी नगरपालिकामा शिक्षकको ताला, मेयर भन्छन्– खुल्छ

काठमाडौँ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मुख्य द्वारमा तालाबन्दी गरिएको छ । नगरपालिकाका कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकले तलब नपाएको भन्दै तालबन्दी गरिदिएका हुन् ।

गत साउनदेखिको नै तलब नपाएपछि आफूहरुले बाध्य भएर ताला लगाइएको आन्दोलन परिचालन समितिका संयोजक अशोककुमार यादवले बताए । मेयर र उपमेयरलाई सो विषयमा पटक पटक मौखिक र लिखित रुपमा जानकारी गराउँदा पनि तलब नपाएपछि तालाबन्दीको विकल्प नभएको यादवको भनाइ छ ।

नगरपालिकाका मेयर बीरेन्द्र माझी भने बजेट पारित नभएकोले शिक्षक र कर्मचारीलाई तलब खुवाउन नसकिएको बताउँछन् । 

‘बजेट पारित भएकै छैन । बजेट पारित नगरी तलब खुवाउन सक्ने कुरा पनि भएन । मैले सबै पक्षसँग कुरा गरेर सहमति कायम गरिसकेको छु । अब बजेट पनि पारित हुन्छ र शिक्षक कर्मचारीले तलब पनि पाउनु हुन्छ,’ मेयर माझीले वडापालिकासँग भने ।

कानुन अनुसार स्थानीय सरकारले आगामी आर्थिक वर्षको लागि असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ भने असार मसान्तभित्रमा पारित गरिसक्नु पर्छ । तर, हनुमाननगर कंकालिनी नगरपालिकाले दिएको बजेट सिलिङप्रति वडाध्यक्षहरुले विमती राखेपछि बजेट निर्माण कार्य नै प्रभावित भएको छ ।

‘नगरपालिकाले ८ करोड ७० लाखको सिलिङ दिएर बजेट योजना पठाउन वडा कार्यालयहरुलाई भनिएको थियो । तर, बजेट कम भएको भन्दै वडा कार्यालयहरुले बजेट कार्यक्रम नै पठाएनन् । त्यसैकारण बजेट ल्याउन सकिएको छैन । अहिले वडा कार्यालयहरुसँग एक प्रकारको सहमति भइसकेको छ । अब बढीमा १५ दिनभित्र बजेट ल्याउने गरी पहल थालेको छु,’ मेयर माझीले भने ।

उनले सो विषयमा आन्दोलनरत शिक्षक र कर्मचारीसँग पनि कुरा गरेका छन् । यथार्थ अवस्थाबारे शिक्षक र कर्मचारीलाई जानकारी गराएको हुँदा अब ताला खुल्ने र पठनपाठन तथा नगरपालिकाको काम सौहार्दरुपमा हुने विश्वास मेयर माझीको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update