काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माअोवादी केन्द्रले केपी ओली नेतृत्वको संघीय सरकारविरुद्ध ७५३ वटै स्थानीय तहमा खबरदारी सभा गर्ने भएको छ ।
देशभरका सबै पालिकास्तरमा कमिटीसमेत सक्रिय नभएको अवस्थामा माओवादीले पालिका स्तरमा खबरदारी सभा गर्ने महत्वाकांक्षी निर्णय सार्वजनिक गरेको हो ।
माओवादीको आज बसेको पदाधिकारी बैठकले आगामी मंसिर मसान्तभित्रै सम्भव भएसम्मका सबै पालिकामा सरकारविरुद्ध खबरदारी सभा गर्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता अग्नि सापकोटाले देशभरका पालिकामा खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी दिए । कुन पालिकाले कहिले यस्तो सभ ागर्ने भन्ने निर्णय भने सम्वन्धित प्रदेश कमिटीले तय गर्ने उनको भनाइ छ ।
सत्ताबाट हटेलगत्तै माओवादी केन्द्रले सरकारविरुद्ध संघर्ष थालेको छ । केहीअघि काठमाडौँमा खबरदारी सभा गरेको माओवादी अब गाउँ गाउँ पुग्ने योजनामा रहेको उनको भनाइ छ । कांग्रेस एमाले गठबन्धनको यो सरकारलाई माओवादी केन्द्रले अपवित्र गठवन्धन भन्दै आएको छ ।