Odapalika - The Fourth Estate - चौथो अंग
टिकटक बनाएर ५० हजार राशिको पुरस्कार जित्ने अवसर, यस्ता छन् नियम र शर्तहरु

काठमाडौँ । मनोरञ्जनको लागि मात्रै टिकटक बनाउनेहरुलाई पनि खुसीको खबर छ । अब टिकटक बनाएर ५० हजार रुपैयाँ राशिको पुरस्कार पनि जित्न सकिनेछ ।

सामाजिक सुरक्षा कोषले सातौं सामाजिक सुरक्षा दिवसको उपलक्ष्यमा टिकटक प्रतियोगिता गर्न लागेको हो । कोषले सामाजिक सुरक्षा सम्बन्धी एउटा गित बनाएर त्यसमा टिकटक प्रतियोगिता गराउन लागेको हो ।

सो प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ राशिको पुरस्कार दिने व्यवस्था गरिएको छ । यस्तै, दितीय हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार रुपैयाँ प्रदान गरिने कोषले जानकारी दिएको छ ।

योगदानमा आधारित समाजिक सुरक्षा कोषले आगामी मंसिर ११ गते सातौं सामाजिक सुरक्षा दिवस मनाउन लागेको हो । कोषले योगदानका आधारमा औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा प्रदान गरिरहेको छ । सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्ने समयमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यक्रमलाई ‘नयाँ युगको सुरुवात’ भनेका थिए । अहिले पनि केपी शर्मा ओली नै नेपालको प्रधानमन्त्री छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले बृद्ध अवस्था सुरक्षा योजना, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना गरी ४ प्रकारका सामाजिक सुरक्षा योजना संचालन गरिरहेको छ । 

श्रम ऐन लागू हुने औपचारिक क्षेत्र सामाजिक सुरक्षा कोषमा आवद्ध भएर अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुनुपर्ने कानुनी व्यवस्था छ । यस्तै, बैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई पनि अनिवार्य रुपमा सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराइएको छ । स्वरोजगारमा संलग्न व्यक्तिहरु पनि कोषमा आवद्ध हुन सक्ने व्यवस्था छ । 

अहिले कोषको दायरा व्यापक बनाइएको छ । यसैकारण कोषका कार्यक्रममा सहभागी हुनबाट छुट्ने अवस्था कम छ । तर, यसको कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारहरु गम्भीर रुपमा लाग्नुपर्ने आवश्यकता भने महसुस गरिएको छ । स्थानीय तहहरु भने कोषसँग समझदारी पत्रमा हस्ताक्षर गरी आफ्नो पालिकाभित्रका नागरिकलाई कोषमा आवद्ध गराउन सक्रिय रुपमा सहभागी भइरहेका कोषले जानकारी दिएको छ ।

कोषमा हालसम्म करिब २० हजार रोजगारदाता सुचिकृत भएका छन् भने १७ लाख ५६ हजार योगदानकर्ता कोषमा आवद्ध छन् । कोषमा आवद्ध भएका योगदानकर्ताले अहिलेसम्म करिब ६८ अर्ब रुपैयाँ योगदान गरिसकेका छन् । कोषले आफ्ना योगदानकर्तालाई विभिन्न प्रकारका सुरक्षा योजना कार्यान्वयनका लागि ११ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

टिकटक प्रतियोगिताका नियम तथा शर्तहरु

कोषले टिकटक प्रतियोगिताको लागि विभिन्न ८ वटा नियम तथा शर्तहरु बनाएको छ । ती नियम तथा शर्तहरु निम्म अनुसार छन्–

१. प्रतियोगितामा भाग लिनेहरुले नियम र सर्तहरू स्वीकारेको मानिनेछ ।

२. प्रतियोगिता सबै उमेर समूहका नेपालीका लागि खुल्ला छ ।

३. कुनै प्रवेश शुल्क लाग्ने छैन ।

४.  समय सीमा पछि अपलोड गरिएका भिडियोहरूलाई प्रतियोगितामा समावेस   गरिने छैन।

५. टिकटकमा ट्याग (#SSFsangaTikTokmaDanga#SSFsangaTikTokmaDanga) लेखि पोस्ट गरिएका भिडियोहरूलाई मात्र प्रतियोगितामा समावेस गरिनेछ । 

  ६. कुनै पनि भिडियोहरू जुन खतरनाक, अश्लील, आपत्तिजनक, अशोभनीय, अवैध, धोखाधडी, वा अरूको अधिकार वा प्रतिलिपि अधिकार उल्लघंन भएमा स्वत अयोग्य ठहरिनेछ ।

७. कुनै कारणले प्राप्त नभएको भिडियोहरूको लागि कुनै जिम्मेवारी हुने छैन ।

८. प्रतियोगितामा भाग लिएको वा आफ्नै लापरवाहीको कारणले कुनै पनि क्षति, हानि, चोटपटक वा निराशा भएमा हामी उत्तरदायी हुनेछैनौं ।

विजेता चयन र घोषणा

१. विजेता छनौट लाइक, शेयर, नियमहरुको पालना र सिर्जनात्मकताको आधारमा गरिनेछ ।

२. विजेताहरुलाई फेसबुक, टिकटक वा सिधै म्यासेज गरि प्रतियोगिता सकिएको केही दिनभित्र सूचीत गरिनेछ ।

३. विजेताले कुनै पनि प्रचार सामग्रीमा आफ्नो नाम र फोटोको साथसाथै भिडियो प्रयोग गर्न सहमति दिएको मानिनेछ ।

४. यदि विजेतालाई सम्पर्क गर्न सकिएन वा सूचीत गरिएको १५ दिनभित्र पुरस्कार दावी गरेन भने अर्को विजेता प्रतिस्थापन गने अधिकार हामीमा सुरक्षित हुनेछ ।

५. पुरस्कार प्राप्त गर्दा आफ्नो सही परिचय वा विवरणहरू प्रदान गर्नु विजेताको जिम्मेवारी हुनेछ ।

https://www.tiktok.com/@odapalika/video/7435962633074773255?is_from_webapp=1&sender_device=pc&web_id=7414770696436729351

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update