Odapalika - The Fourth Estate - चौथो अंग
कात्तिक २९ देखि फिन इलेक्ट्रो टेक सुरु हुने

काठमाडौंँ । कात्तिक २९ गतेदेखि फिन इलेक्ट्रो टेक २०२४ सुरु हुने भएको छ । इलेक्ट्रो टेकमा विद्युतीय सामाग्रीको अन्तराष्ट्रियस्तरको बृहत प्रदर्शनी तथा गोष्ठी आयोजना गरिनेछ ।

विद्युतीय व्यवसायी महासंघले काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी हलमा इलेक्ट्रो टेक सुरु गर्न लागेको हो । महासंघले आयोजना गर्न लागेको यो टेक एघारौं संसकरण हो ।

विद्युत् तथा विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि टेक आयोजना गर्न लागिएको महासंघले जानकारी दिएको छ । सो टेकको प्रायोजन ट्रान्सवेल्ड ट्रान्सफर्मरले गरेको छ ।

प्रदर्शनीमा आमउपभोक्तालाई नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्य महासंघले लिएको छ । यस वर्ष ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ नारा तय गरिएको छ । प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पु¥याउने लक्ष्य यस संस्करणको रहेको छ । उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरु प्रदर्शनी अवधी भरी सञ्चालन गरिने आयोजकको भनाइ छ ।

फिन इलेक्ट्रो टेक २०२४ को हलभित्र ४४ वटा ब्लकहरु, २८ स्टलहरु रहेको एक प्याभिलिएन रहेको छ र हल बाहिर डोममा २६ वटा स्टलहरु रहेका छन् । फिन इलेक्ट्रो टेक २०२४ मा भारतको उद्योग वाणिज्य मन्त्रालयको वाणिज्य विभागको सहयोगमा इन्डियन चेम्बर अफ कमर्शलेले हल भित्रको २८ स्टलहरु रहेको प्याभिलिएनमा इन्डिया पावर शोको लागि इन्डियन उद्योगी एवं व्यवसायीहरुले बुकिङ्ग गरेका छन् ।

फिन इलेक्ट्रो टेक २०२४ मा हलभित्र र हल बाहिर गरि जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन्, जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्र्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने अवलोकनकर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ ।

 प्रत्येक दुई वर्षमा अयोजना हुने इलेक्ट्रो टेकको यस संस्करणमा टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रालि) रहेको छ भने प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रालि) रहेको छ । 

यसै गरी डायमण्ड स्पोन्सरमा अर्किड इलेक्ट्रिकल्स (अर्किड इलेक्ट्रिकल्स प्रालि) र जानकी केबल       (जानकी केबल इन्डस्ट्री प्रालि) रहेका छन् । प्रदर्शनीको गोल्ड स्पोन्सरमा सिएनएस (प्राइम भेन्चर्स प्रालि), लिशा एण्ड टिन्ज (वेलकम टेक्नोल प्रालि), स्विफट गोल्ड (बबिता ट्रेडर्स) र केइआई जनता (जनता केबल इन्डस्ट्रिज प्रालि) रहेका छन् । 

अफिसिएल बैंकमा गरिमा विकास बैंक लिमिटेड र अफिसिएल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेका छन् भने अफिसिएल क्यारियरमा ग्लोबल कलस लजिस्टिक रहेको छ । यसै गरी फ्लोरिङ पार्टनर हेरिटेज कार्पेट रहेको छ भने कार्डस्पोन्सरमा केइआई वायर एवं केबल (केइआई उद्योग लिमिटेड, इण्डीया) रहेको छ । ग्लोबल एक्पोजीसनबाट व्यवस्थापन गरिएको यस प्रदर्शनीको अवलोकनका लागि मंगलबारदेखि सुहुलिएत दरमा डिजिटल पेमेन्ट पार्टनरमा रहेको खल्ती एप मार्फत अग्रीम प्रवेश टिकट बुकिङ्ग खुल्ला गर्न लागिएको छ ।

प्रदर्शनीप्रति ऐक्यवद्धता जनाउन रणनीतिक सहयोगको रुपमा नेपाल विद्युत प्राधिकरणको सहभागिता रहेको छ भने सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल ईञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत् उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रीकल ईञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामाग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रीकल कन्ट्राक्टर एशोशियसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टस् लगायत सरोकारवाला संस्थाहरूको सहयोगी संस्थाको रुपमा यस आयोजनामा सहभागिता रहने छ ।

स्वदेशी उत्पादन लगायत भारत, चिन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु प्रदर्शनमा रहेको इलेक्ट्रो टेकको यस एघारौं संस्करणमा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, टिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगाएतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको सहभागिता रहने छ । प्रदर्शनीलाई सहभागीमुलक एवं सुचनामुलक बनाउनका लागि विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्तक्र्रिया कार्यक्रमहरू सञ्चालन हुने छन् ।

चार दिनसम्म चल्ने प्रर्दशनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जीनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, नेपाल भरका विद्युतीय व्यवसायीहरु, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्व साधारण गरी ५० हजारभन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update