Odapalika - The Fourth Estate - चौथो अंग
गौरीशंकर र स्वामीकार्तिक खापर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा 

काठमाडौँ । आसन्न स्थानीय तहको उपनिर्वाचनमा दुई पालिकामा  उपाध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । 

आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता कार्यक्रम छ । यसका लागि दलहरुले आ–आफ्नो उम्मेदवारको नाम टुंगो लगाइरहेका छन् । 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । यहाँको लागि प्रमुख दलहरुले उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् । 

२०७९ सालमा भएको निर्वाचनमा स्वामीकार्तिक खापरकी उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मैना जोशीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । सो पदका लागि अहिले प्रमुख दलले महिलालाई उम्मेदवार बनाएका छन् । 

एमालेले सुलोचनाकुमारी भण्डारी, कांग्रेसले कुन्तिसरा शाही, माओवादी केन्द्रले राजकुमारी विकलाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादी उम्मेदवारको नाम टुंगो नलगाई निर्वाचनमा होमिएको छ । 

यसैगरी, कांग्रेसबाट दोलखा गौरी शंकर गाउँपालिका उपाध्यक्षमा निर्वाचित श्याम सुन्दर तामाङको हृदयघातबाट मृत्यु भएपछि यहाँ पनि उपनिर्वाचन हुन लागेको हो । यहाँ पनि प्रमुख दलले महिलालाई नै उम्मेदवार बनाएका छन् । 

जसअनुसार, कांग्रेसले पासदिकी शेर्पा, एमालेले उमा मगर शेर्पा, माओवादी केन्द्रले निमलेकी शेर्पा, एकीकृत समाजवादीले रविना खड्कालाई उम्मेदवार बनाएका छन् । 

स्वामीकार्तिक खापर गाउँपालिका र गौरी शंकर गाउँपालिकाको उपाध्यक्षमा महिलाबीच प्रतिस्पर्धा हुने भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update