Odapalika - The Fourth Estate - चौथो अंग
प्रहरीको कात्तिक : समातिए रवि, लीला र दीपक, जोगिए धनराज र ऋषि

काठमाडौँ । नेपाल प्रहरीले यो कात्तिक महिनामा तीन पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुन कार्यान्वयन गरेको छ । कात्तिक २ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परे ।

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कास्की प्रहरीले रविमाथि म्याद थप्दै न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

साथै रुपन्देही प्रहरीले पनि सो विषयमा रविमाथि अनुसन्धान गर्ने भएको छ । यही कात्तिक २५ गते अदालतले थप १३ दिन रविलाई हिरासतमा राखेर अनुसन्धान गर्न समय थप गरेको छ । 

कात्तिक २ गते रविलाई पक्राउ गरेको प्रहरीले महिनाको अन्त्यतिर दुई पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएको हो ।मानव तस्करको आरोपमा यही कात्तिक २५ गते एमाले नेता तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परे । विराटनगरस्थित आफ्नै निवासमा आइतबार पक्राउ परेका कोशी प्रदेशसभा सदस्यसमेत रहेका पूर्वमन्त्री अधिकारीलाई हवाइ जहाजमार्फत सोही दिन प्रहरीले काठमाडौं ल्याएर अनुसन्धान गरिरहेको छ । 

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका तत्कालीन मन्त्री अधिकारीलाई जापानको अध्यागमनले विमानस्थलबाट नेपाल फर्काइदिएको थियो । उनीसँगै गएका अन्य तीनजनालाई पनि जापानले नेपाल फर्काइदिएको थियो । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै मन्त्रीबाहेक अन्य तीनजनालाई प्रहरीले नियन्त्रणमा लियो । 

यो घटना बाहिर आएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिए भने उनलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने आवाज बुलन्द भइरहेका बेला आइतबार प्रहरीले पक्राउ गरेको हो ।

सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले  अधिकारीलाई दुई दिन हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो । 

यसैगरी, कात्तिक २७ गते मंगलबार ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ परेका छन् ।  

यही कात्तिक २० गते सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा उनलाई दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

दीपक मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । सोही घटनामा उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर अदालतले गरेको हो । 

जोखिए धनराज र ऋषिकेश

सहकारीको रकम अपचलनमा मुछिएका कांग्रेस उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ र एमालेका सांसद तथा सार्वजनिक लेखा समितिको सभापति ऋषिकेश पोखरेल अझै छानबिनको दायरामा आएका छैनन् । संसदीय छानबिन विशेष समितिले उनीहरुमाथि छानबिन गर्न सुझाव दिएको छ । तर, प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर छानबिन गर्न सकेको छैन । गुरुङ र पोखरेललाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने प्रतिपक्षी दलका नेताहरुले मात्र होइन कांग्रेस महामन्त्री गगन थापाले समेत सार्वजनिक रुपमै बताएका थिए । तर, हालसम्म उनीहरु कानुनी दायरामा आइसकेका छैनन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update