काठमाडौँ । नेपाल हस्तकला महासंघले आउँदो मंसिर २० देखि २४ गतेसम्म ‘२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता २०८१’को आयोजना गर्ने भएको छ ।
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा उक्त व्यापार मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ । यस्तो मेला महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको छ ।
उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको मागअनुरुपका वस्तु डिजाइन र रङ संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताए ।
त्यस्तै, स्वदेशी तथा विदेशी क्रेता तथा बिक्रेताबीच एकआपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान गर्ने उद्देश्य पनि मेलाको रहेको छ ।
बौद्धस्थित होटल हायात परिसरमा आयोजना हुने सो मेलाको आयोजनाका लागि उद्योग वाणिज्य क्षेत्रका छाता संगठनहरू, बैंक तथा वित्तीय संस्था, वायुसेवा कम्पनीहरू, बीमा कम्पनीहरू, ठूला औद्योगिक, व्यापारिक तथा प्रतिष्ठानहरू र अन्य व्यापारिक क्षेत्रका संघसंस्था र कम्पनीहरूको पनि सहयोग रहने बताइएको छ ।
छिमेकी राष्ट्र भारत, चीन, पाकिस्तान, बंगलादेशका उद्योगी व्यापारीहरूको सहभागिता रहने सो मेलामा हस्तकलाका उत्पादनहरूका करिब १५० वटा स्टल रहने आयोजकले जनाएका छन् । त्यस्तै, व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघहरू र वस्तुगत संघहरूसमेतको सहभागिता रहने महासंघले जनाएको छ ।
मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरूलगायत अन्य हस्तकलाका सामग्रीहरू प्रदर्शनी तथा बिकीका लागि राखिने बताइएको छ ।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रमभित्र समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेष रूपमा प्रदर्शनी गर्ने कार्यक्रम छ । त्यसैगरी, मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिहरूका लागि स्टल निःशुल्क उपलब्ध गराइने पनि आयोजकले जनाएका छन् ।