Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल महिला हिंसामा दोषी ठहर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र वित्तीय व्यवस्थापन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल महिला हिंसामा दोषी देखिएका छन् ।

राष्ट्रिय महिला आयोगले डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल राष्ट्र बैंककै एक उच्चपदस्थ महिला कर्मचारीमाथि महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न रहेको ठहर गरेको हो । यद्यपि, डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकालले सो हिंसामा आफूहरु संलग्न नरहेको र घटना भएको भनिएको समयमा आफूहरु दुव्र्यवहारस्थलमा नै नभएको जिकिर गर्दै आएका थिए । आयोगको अनुसन्धानले भने उनीहरु सो हिंसामा दोषी देखिएको ठहर गरेको हो । 

यो घटनामा संलग्न मुख्य अभियुक्त राष्ट्र बैंकका तत्कालिन निर्देशक थानेश्वर आचार्यलाई भने नेपाल राष्ट्र बैंकले बर्खास्त गरिसकेको छ । आयोगले डेपुटी गभर्नर मिश्र कार्यकारी निर्देशक ढकाललाई दोषी मात्रै ठहर गरेको छैन, पीडितलाई उनीहरु विरुद्ध कानुनी उपचार खोज्न समेत सुझाव दिएको छ ।

‘विपक्षी निर्देशक थानेश्वर आचार्यले आफ्नो बयानमा उक्त दिन हलभित्र टेबलमा देवकुमार ढकाल सर र डेपुटी गभर्नर बमबहादुर मिश्र सर हुनुहुन्थ्यो भनी बयान दिएको देखिदा निजहरुको नियोजित संलग्नता देखिएको,’ आयोगको ठहरमा भनिएको छ ।

यस्तै आयोगले डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकालले ‘परस्पर बाझिएको बयान दिएको’ देखिदा उनीहरु (डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल) को स्वच्छ मनसाय नदेखिएकोले निजहरुको पनि उक्त घटनामा संलग्नता देखिएको ठहर गरेको छ । 

आयोगले गत असार ७ गते नै डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल सो हिंसामा संलग्न रहेको ठहर गरे पनि सो विषय हालसम्म गोप्य राखिएको छ । र, डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकालमाथि नेपाल राष्ट्र बैंकले कुनै कारवाही गरेको औपचारिक जानकारीसमेत गराएको छैन । 

नेपाल राष्ट्र बैंक ऐन अनुसार डेपुटी गभर्नर राष्ट्र बैंकको संचालक समिति सदस्य हुने व्यवस्था छ । यस्तै, कार्यकारी निर्देशक भनेको नेपाल राष्ट्र बैंकको कर्मचारीतर्फको सबैभन्दा उच्च (विशिष्ट श्रेणीको) पद हो । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो । केन्द्रीय बैंक सरकारको आर्थिक सल्लाहकार पनि हो ।

देशको केन्द्रीय बैंकका उच्चपदस्थ अधिकारीमाथि संवैधानिक आयोगले महिला हिंसाजन्य दुव्र्यहार कार्यमा संलग्न रहेको ठहर गरेको सम्भवतः यो नै पहिलो घटना हो । तर, संवैधानिक आयोगले यति गम्भीर अभियोग लगाए पनि राष्ट्र बैंकले ती दुबै अधिकारीमाथि कारवाही नगर्नु अर्काे अनौठो विषय भएको छ ।

के थियो घटना ?

नेपाल राष्ट्र बैंकले २०८० साल पुस २७ गते नगरकोटको होटल माउन्टेन मिस्टिकमा स्ट्रेस म्यानेजमेन्ट कार्यक्रम राखेको थियो । सो कार्यक्रममा राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरुसहित कर्मचारीसमेत सहभागी थिए । सोही कार्यक्रममा राष्ट्र बैंकका तत्कालिन निर्देशक थानेश्वर आचार्यले राष्ट्र बैंककै एक महिला कर्मचारीमाथि महिला हिंसाजन्य दुव्र्यहार गरेका थिए ।

सो दुव्र्यवहारमा डेपुटी गभर्नर मिश्र तथा कार्यकारी निर्देशक ढकालले तत्कालिन निर्देशक आचार्यलाई उक्साएको तथा दुव्र्यवहारको फोटो र भिडियो खिचेर पीडितलाई थप पीडा दिएको आरोप लागेको थियो । घटना सार्वजनिक भएपछि पीडित महिला कर्मचारीले दुव्र्यवहार बारे अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् । राष्ट्र बैंकले आन्तरिक छानविनपछि तत्कालिन निर्देशक आचार्य दोषी देखिएको भन्दै सेवाबाट बर्खास्त गरेको थियो । तर, डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई भने सफाइ दिएको थियो ।

राष्ट्र बैंकको सो निर्णयमा चित्त नबुझेपछि पीडित महिला कर्मचारीले राष्ट्रिय महिला आयोगमा २०८० साल माघ २९ गते निवेदन दर्ता गरेकी थिइन् । उनको निवेदनमा राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकालसहित एक जना महिला पत्रकार विरुद्ध कारवाहीको माग गरिएको थियो । आयोगले दोषी देखिएका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई दोषी ठहर गर्दै निवेदकलाई कानुनी उपचारमा जान सुझाव दिएको छ भने पत्रकार विरुद्ध छानविन गर्न प्रेस काउन्सिल नेपालमा लेखी पठाउने निर्णय गरेको छ । 

महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न तत्कालिन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको छैन ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update