काठमाडौँ । नेपाल राष्ट्र बैंकको निर्देशक पदबाट बर्खास्तीमा परेका थानेश्वर आचार्यले प्रशासकीय अदालतबाट सफाइ पाएका छन् ।
राष्ट्र बैंकका एक महिला कर्मचारीलाई महिला हिंसाजन्य दुर्व्यवहार गरेको अभियोगमा आचार्यलाई राष्ट्र बैंकले बर्खास्त गरेको थियो । राष्ट्र बैंकको सो निर्णय विरुद्ध आचार्यले गत असार २ गते प्रशासकीय अदालतमा निवेदन दिएका थिए ।
प्रशासकीय अदालतको कात्तिक २७ गतेको इजलासले उनलाई सफाइ दिएको हो । यो सुफाइपछि उनी पुन राष्ट्र बैंकको जागिरमा जोडिने छन् । आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णय बदर भएको प्रशासकीय अदालतका सुचना अधिकारी अरुण कुमार कोइरालाले जानकारी दिए ।
‘राष्ट्र बैंक संचालक समितिले गरेको निर्णय प्रशासकीय अदालतले बदर गरेको छ,’ सुचना अधिकारी कोइरालाले वडापालिकासँग भने ।
के थियो घटना ?
नेपाल राष्ट्र बैंकले २०८० साल पुस २७ गते नगरकोटको होटल माउन्टेन मिस्टिकमा स्ट्रेस म्यानेजमेन्ट कार्यक्रम राखेको थियो । सो कार्यक्रममा राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरुसहित कर्मचारीसमेत सहभागी थिए । सोही कार्यक्रममा राष्ट्र बैंकका तत्कालिन निर्देशक थानेश्वर आचार्यले राष्ट्र बैंककै एक महिला कर्मचारीमाथि महिला हिंसाजन्य दुर्व्यवहार गरेको आरोप लागेको थियो ।
सो दुव्र्यवहारमा डेपुटी गभर्नर बम बहादुर मिश्र तथा कार्यकारी निर्देशक देवकुमार ढकालले तत्कालिन निर्देशक आचार्यलाई उक्साएको तथा दुव्र्यवहारको फोटो र भिडियो खिचेर पीडितलाई थप पीडा दिएको आरोप लागेको थियो । घटना सार्वजनिक भएपछि पीडित महिला कर्मचारीले दुव्र्यवहार बारे अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् । राष्ट्र बैंकले आन्तरिक छानविनपछि तत्कालिन निर्देशक आचार्य दोषी देखिएको भन्दै सेवाबाट बर्खास्त गरेको थियो ।
राष्ट्र बैंकको सो निर्णयविरुद्ध आचार्य प्रशासकीय अदालत गएको थिए । अदातले राष्ट्र बैंकको निर्णय बदर हुने फैसला गरेको हो । महिला हिंसाजन्य दुर्व्यवहारमा संलग्न भन्दै तत्कालिन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको छैन ।