काठमाडौँ । एकीकृत समाजवादीले आसन्न स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने भएको छ । एकीकृत समाजवादीले वैचारिक दृष्टिकोण मिल्ने दल तथा व्यक्तिसँग चुनावी गठबन्धन गर्ने भएको हो ।
आउँदो मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदै छ । मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेकाले दलहरु उम्मेदवारको नाम टुंगो लगाउन सक्रिय रहेका बेला एकीकृत समाजवादीले गठबन्धन गर्ने नीति लिएको हो ।
समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई अंगीकार गरेको सो पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा साङ्गठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो ।
एकीकृत समाजवादीले प्रतिपक्षी दलसँग सहकार्य र चुनावी गठबन्धन गर्न छलफल गर्दै आएको छ । माओवादी केन्द्रसहितका दलसँग चुनावी तालमेल तथा सहकार्य गर्ने विषयमा भएको छलफललाई एकीकृत समाजवादीले अन्तिम चरणमा पु¥याएको छ ।
आउँदो मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ ।