Odapalika - The Fourth Estate - चौथो अंग
महिला आयोगले डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई महिला हिंसामा कसरी दोषी देख्यो ?

काठमाडौँ । राष्ट्रिय महिला आयोगले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र वित्तीय व्यवस्थापन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई महिला हिंसाजन्य दुर्व्यवहारमा दोषी ठहर गरेको छ । 

राष्ट्र बैंकका एक महिला कर्मचारीलाई राष्ट्र बैंककै एक औपचारिक कार्यक्रममा तत्कालिन निर्देशक थानेश्वर आचार्यले महिला हिंसाजन्य दुर्व्यवहार गरेका थिए । सो दुर्व्यवहारमा डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल तथा आचार्यले दिएको बयान ‘परस्पर बाझिएको’ ‘नियोजित संलग्नता देखिएको’, ‘संलग्नता देखिएको’, ‘स्वच्छ मनसाय नदेखिएको’जस्ता आधार र कारणले डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल पनि दोषी देखिएको आयोगको भनाइ छ । 

सो महिला हिंसा प्रकरणमा डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल कसरी मुछिए भन्ने सन्दर्भमा वडापालिकाले तयार पारेको यो बिफ्रिङ हो । यो बिफ्रिङमा राष्ट्रिय महिला आयोगले डेपुटी गभर्नर मिश्र, कार्यकारी निर्देशक ढकाल र एक जना पत्रकार महिलाको विषयमा १२ वटा बुँदामा तयार पारेको निष्कर्ष र सुझावसहितको कारवाही विवरणलाई आधार मानिएको छ ।

घटना विवरण

 नेपाल राष्ट्र बैंकले २०८० साल पुस २७ गते नगरकोटको होटल माउन्टेन मिस्टिकमा स्टे्रस म्यानेजमेन्ट सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु, निर्देशकहरु र अन्य कर्मचारीहरु पनि थिए । सो कार्यक्रममा ‘स्न्याक्स खाने समयमा स्न्याक्स खाइरहेको समयमा बैंककै एक जना महिला कर्मचारीमाथि महिला हिंसाजन्य दुर्व्यवहार भयो । सो दुर्व्यवहार राष्ट्र बैंककै तत्कालिन निर्देशक थानेश्वर आचार्यले गरेका थिए ।

यसरी दुर्व्यवहार भएपछि २०८० साल माघ ८ गते महिला कर्मचारीले तत्कालिन निर्देशक आचार्यमाथि कारवाहीको माग गरेर राष्ट्र बैंकमा निवेदन दिइन् । सो निवेदनमा डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल मुछिएका छैनन् ।

राष्ट्र बैंकमा निवेदन दिए पनि पीडित महिला कर्मचारीले २०८० साल माघ २९ गते राष्ट्रिय महिला आयोगमा पनि निवेदन दिन्छिन् । यो निवेदनमा डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल संलग्न रहेको उल्लेख छ । डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाललाई सो हिंसाको लागि मिलेमतो रहेको, हिंसाको भिडियो खिचेको तथा पिडकलाई हिंसा गर्न उक्साएको जस्ता आरोप लगाइएको छ ।

यस्तो निवेदन परेपछि आयोगले २०८० साल चैत १९ गते राष्ट्र बैंकलाई पत्र लेख्छ । सो पत्रमा पिडक आचार्यमाथि के कस्तो कारवाही भयो ? र, मिश्र र ढकाल पनि हिंसामा संलग्न भएको उजुरी परेकोले उनीहरुसँग पनि स्पष्टिकरण लिएर आयोगमा जानकारी गराइदिनु भनिएको हुन्छ । 

राष्ट्र बैंकले २०८१ वैशाख २ गते आयोगलाई जवाफ दियो । सो जवाफमा तत्कालिन निर्देशक आचार्यलाई आवश्यक कारवाहीका लागि मानव संशाधन व्यवस्थापन विभागलाई लेखि पठाएको, कर्मचारी आचारसंहिता बमोजिम आचारसंहिता अनुगमन तथा कार्यान्वयन समितिले छानविन गरेर २०८० फागुन १ गते प्रतिवेदन बुझाएको र प्रतिवेदनमा आचार्यले महिला कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै कारवाहीको लागि सिफारिस गरेको जानकारी गराएको छ । राष्ट्र बैंकले आचार्यलाई स्पष्टिकरण सोधेको थियो । आचार्यले दिएको स्पष्टिकरणमा चित्त नबुझेपछि २०८० चैत ६ गते उनलाई सेवाबाट हटाउने गरी कारवाही भएको जानकारी आयोगलाई गरायो । तर, त्यो जवाफमा राष्ट्र बैंकले मिश्र र ढकाललाई कारवाही गर्न पिडितले २०८० माघ ८ गते दिएको निवेदनमा माग नगरिएको कारण उनीहरुसँग स्पष्टिकरण नसोधिएको भनेर जवाफ दियो ।

राष्ट्र बैंकले यस्तो पत्र पठाएपछि आयोगले २०८१ वैशाख ७ गते पिडित महिला कर्मचारीलाई राष्ट्र बैंकको जवाफबारे जानकारी गरायो ।

यसरी भयो पत्रकारको इन्ट्री

पिडित महिला कर्मचारीले २०८१ वैशाख १७ गते आयोगमा अर्काे निवेदन दिइन्, जुन निवेदनमा पिडक तथा पिडकलाई उक्साउने र भिडियो तथा फोटो खिचेर पत्रकारलाई दिने अनि सो फोटो र भिडियो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने पत्रकारलाई कारवाही गरिपाउँ भनियो । यो निवेदनमा पिडित महिला कर्मचारीले के पनि भनिन् भने राष्ट्र बैंकमा पहिलो निवेदन दिँदा तनावका कारण मुख्य पिडकलाई मात्र कारवाही गराउन सोच्न भ्याएकोले मिश्र, ढकाल र पत्रकार महिला (नाम वडापालिकाले गोप्य राखेको) को नाम छुट्न गएको तर बैंकले गठन गरेको छानविन समितिमा भने सबै जनाको नाम खोलेर लिखित बयान दिएको छु भनेर उल्लेख गरिन् ।

२०८१ वैशाख २१ गते पिडित महिला कर्मचारीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष यौन दुर्व्यवहार गर्ने पिडकलाई उक्साउने र भिडियो÷फोटो खिचेर छाप्नका लागि पत्रकारलाई दिने बैंकका पदाधिकारी तथा कर्मचारी (मिश्र र ढकाल) लाई कानुन बमोजिम कारवाही गर्न निवेदन दिइन् ।

पिडित महिला कर्मचारीले गभर्नरसमक्ष यस्तो निवेदन दिएपछि डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकालले २०८१ जेठ २ गते राष्ट्र बैंकमा लिखित स्पष्टिकरण पेश गरेका थिए । सो स्पष्टिकरणमा डेपुटी गभर्नर मिश्रले आफूलाई सो घटनाबारे नै थाहा नभएको, पत्रकार महिलाले फोन गरेपछि मात्रै जानकारी पाएको र पिडितकै अगाडि बसेर ती पत्रकार महिलालाई फोन गरी यस विषयमा कुनै पनि समाचार नलेखिदिन अनुरोध गरेको भने उल्लेख गरेका छन् ।

कार्यकारी निर्देशक ढकालले आफ्नो स्पष्टिकरणमा घटनाबारे थाहा नै नभएको र घटना घटेको ४÷५ दिनपछि माघ ३ वा ४ गते ती पत्रकार महिलाले फोन गरेर जिज्ञासा राखेपछि मात्रै थाहा पाएको, आफूले फोटो वा भिडियो नखिचेको उल्लेख गरेका छन् । 

तत्कालिन निर्देशक आचार्यले नेपाल राष्ट्र बैंकको छानविन समितिमा दिएको बयानमा ‘घटना भएको दिन हलभित्र टेबलमा देवकुमार ढकाल सर र डेपुटी गभर्नर बमबहादुर मिश्र सर हुनुहुन्थ्यो । हलमा अन्य कार्यकारी निर्देशक लगायतका निर्देशकहरु उपस्थित हुनुहुन्थ्यो । सबै साथीभाइ एकछिन नाचगान गरियो । म्याडम बाहिर निस्कने बेला नमस्कार र हग गरेको हो...’ भनेका छन् ।

पत्रकार महिलाले अर्की एक पत्रकार महिलासँगको च्याटमा ‘मलाई ढकाल सर (देवकुमार ढकाल) ले सबै कुरा भन्नुभएको हो’ भनेर उल्लेख गरेको च्याटको स्क्रीनसट पिडित महिला कर्मचारीले राष्ट्रिय महिला आयोगमा बुझाएकी छिन् ।

डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकालको संलग्नता 

राष्ट्रिय महिला आयोगले ४ बुँदामा आफ्नो निष्कर्ष उल्लेख गरेको छ । पहिला बुँदामा तत्कालिन निर्देशक आचार्यले महिला हिंसाजन्य दुर्व्यवहार गरेको ठहर गरेको छ ।

दोस्रोदेखि चौथो बुँदासम्म भने डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल तथा पत्रकार महिला सो हिंसा प्रकरणमा कसरी दोषी देखिए भनेर उल्लेख गरिएको छ । 

बुँदा नम्बर २ मा ‘विपक्षी निर्देशक थानेश्वर आचार्यले आफ्नो बयानमा उक्त दिन हलभित्र टेबलमा देवकुमार ढकाल सर र डेपुटी गभर्नर बमबहादुर मिश्र सर हुनुहुन्थ्यो भनि बयान दिएको देखिँदा निजहरुको नियोजित संलग्नता देखिएको’ उल्लेख गरिएको छ ।

बुँदा नम्बर ३ मा ‘उक्त घटनाको समाचार विभिन्न पत्रपत्रिकामा प्रकाशन भएकोले सो प्रकाशनको सम्बन्धमा पत्रकार महिला (नाम वडापालिकाले गोप्य राखेको) लाई समाचार बनाउन तथा उक्त घटनाको भिडियो डेपुटी गभर्नर बमबहादुर मिश्रले उपलब्ध गराएको भन्ने निवेदकले निवेदनमा उल्लेख गर्नुभएकोले सो विषयमा के कसो भएको हो भनी बमबहादुर मिश्रसँग भएको सोधपुछमा आरोपी तत्कालिन निर्देशक थानेश्वर आचार्यले गरेको कार्यको समयमा म प्रत्येक्ष नहुँदा सो घटनाको सम्बन्धमा मिति २०८० माघ ७ गते पत्रकार महिला (वडापालिकाले नाम गोप्य राखेको पत्रकार) ले मलाई फोन गरी तपाईंहरुको नगरकोटको कार्यक्रममा महिला कर्मचारी (ती महिला कर्मचारीको नाम वडापालिकाले गोप्य राखेको) लाई एक जनाले हातपात गरे अरे हो ? भन्नुभयो । मलाई उल्लेखित घटनाको बारेमा उक्त दिनसम्म कुनै जानकारी थिएन भनि लिएको बयान हेर्दा कार्यकारी निर्देशक देवकुमार ढकालले माघको ५ वा ६ गते मलाई डेपुटी गभर्नर बमबहादुर मिश्रले उक्त घटनासँग जोडेर मेडमले हामीमाथि समेत शंका गरे जस्तो बुझियो भनी जानकारी गराउनु भएको साथै निज डेपुटी गभर्नरज्यूले मैले नगरकोटको कार्यक्रममा त्यस्तो केही गरेको छैन तिमीले नगरेको पनि मलाई थाहा छ तसर्थ तिमीले सम्झाउदा मान्नुहुन्छ कि एक पटक हामीले केही गरेको छैन भनि सम्झाउनु भन्नुभएको भनि बयान गर्नुभएको देखिएकाले उक्त कार्यमाथि दुबै आरोपितको संलग्नता रहेको देखिएको’ उल्लेख छ ।

त्यस्तै बुदाँ नम्बर ४ मा ‘निर्देशक थानेश्वर आचार्यले उक्त वारदात घटनास्थलमा कार्यकारी निर्देशक देवकुमार ढकाल सर, डेपुटी गभर्नर बमबहादुर मिश्र सर पनि त्यही हुनुहुन्थ्यो भन्ने व्यहोरातर्फ हेर्दा डेपुटी गभर्नर बमबहादुर मिश्रको आरोपी तत्कालिन निर्देशक थानेश्वर आचार्यले गरेको कार्यको समयमा म प्रत्येक्ष नहुँदा मैले देख्नसमेत पनि नपाएको भनि बयान गरेको देखिएको तथा कार्यकारी निर्देशक देवकुमार ढकालले उक्त मिति र समयमा म आफ्नै कोठामा सुत्न गएको र घटना भयो भनिएको समयमा सो स्थानमा उपस्थित नरहेकोले त्यहाँ के भयो मलाई थाहा नभएको भनि उल्लेख गरेको बयान एक आपसमा बाझिएको देखिएकोले आरोपी कार्यकारी निर्देशक देवकुमार ढकाल र डेपुटी गभर्नर बमबहादुर मिश्रको स्वच्छ मनसाय नदेखिएकोले निजहरुको पनि उक्त घटनामा संलग्नता देखिएको’ उल्लेख गरेको छ ।

नोटः आयोगले गरेको सो निर्णयको प्रति वडापालिकासँग सुरक्षित छ । तर, यो घटना महिला हिंसाजन्य दुर्व्यवहारको भएको र सो निर्णयमा नेपाल राष्ट्र बैंकमा कार्यरत पिडित महिला कर्मचारीको नाम र सो हिंसामा संलग्न भनिएकी एक जना पत्रकार महिलाको पनि नाम उल्लेख भएकोले पत्रकारिताको धर्म, पत्रकार आचार संहिता तथा हाम्रो व्यवसायिक मान्यताअनुसार आयोगको निर्णयको प्रति सार्वजनिक नगरी व्यहोरा मात्रै प्रकाशित गरेका हौं ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update