काठमाडौँ । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जिल्ला कार्य समितिको बैठकले उम्मेदवारीका लागि उनको एकल नाम सर्वसम्मतले सिफारिस गरेको जिल्ला उपसभापति खेमराज डंगौराले जानकारी दिए ।
जिल्ला समन्वय समिति कैलालीका तत्कालीन अध्यक्ष पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि अध्यक्षको पद रिक्त छ ।
अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस भएकी भुल कैलारी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य हुन् । नेपाली कांग्रेसबाट दलित महिला सदस्यको रुपमा उनी वडामा निर्वाचित भएकी थिइन् ।
जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्र्टी जनप्रतिनिधिले मतदान गर्न पाउने छन् ।