झापा । झापाको कनकाई नगरपालिकामा उपनिर्वाचनको सरगर्मी बढ्न थालेको छ । कनकाई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका हुन लागेको उपनिर्वाचनका लागि राजनीतिक दलले आ–आफ्नो उम्मेदवार घोषणा गरिसकेकाले चुनावी माहोल तातेको छ ।
स्थानीय तहमा ४४ रिक्त पदपूर्तिका लागि आउँदो मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको मंसिर २ गते उम्मेदवार दर्ताको कार्यक्रम छ ।
झापामा क्रियाशील राजनीतिक दलले कनकाई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरिसकेका छन् ।
जसअनुसार एमालेले तुलाराम बस्नेत, कांग्रेसले रामगोपाल ओली, माओवादी केन्द्रले गणेश थापा र राप्रपाले नारायण निरौलालाई उम्मेदवार बनाएका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा कनकाई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा एमालेबाट निर्वाचित दीर्घबहादुर थापाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।